पोखराको १३५ रोपनी जग्गा प्रकरण : मन्त्री बलराम अधिकारी घुस काण्डमा मुछिए
News Desk
Jul-17 , 2025 तारिख 12:07 बेलुका

काठमाडौँ, श्रावण १ |पोखरास्थित १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न गरिएको मिलोमतोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमेत प्रत्यक्ष संलग्न भएको नयाँ अडियो सार्वजनिक भएको छ। अडियोमा मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ, जुन रकम उनले छोरा मनोज अधिकारीमार्फत लिएको जनाइएको छ।

यसअघि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यिनै जग्गासम्बन्धी घुस लेनदेनको अडियो सार्वजनिक भएपछि मंगलबार राजीनामा दिएका थिए। पहिलो अडियोमै मन्त्री अधिकारीको नाम आउँदा उनले प्रतिनिधिसभामा प्रतिक्रिया दिँदै “जुन औँलामा विष लाग्छ, त्यही झर्छ” भन्दै आफू निर्दोष भएको दाबी गरेका थिए।

तर बुधबार बाहिरिएको नयाँ अडियोले प्रकरणलाई झन् जटिल बनाएको छ। सार्वजनिक अडियोमा गुप्ता, बलराम अधिकारी, तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्रीका छोरा मनोज अधिकारीसहित डेढ करोड रुपैयाँभन्दा बढी रकम लिइसकेको दाबी गरिएको छ। गुप्ताले ३५ लाख, बलराम अधिकारीले ३२ लाख, सचिव पोखरेलले ५ लाख, र कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी समेत लाभग्राही भएको उल्लेख गरिएको छ।

अडियो संवाद अनुसार, मन्त्री बलरामको छोरा मनोज अधिकारीले विदेश (न्युजिल्याण्ड)मा रहँदा समेत सरुवाजस्ता प्रशासनिक कामको घुस उठाउने काम गर्दै आएको र नेपाल फर्किएपछि उक्त कार्यलाई गति दिएको भनिएको छ।

त्यस्तै, कास्की भूमि आयोगका अध्यक्षमा खेमबहादुर पुनको नियुक्ति प्रकरणसमेत अडियोमा उठाइएको छ। अडियोमा एक व्यक्तिले मन्त्री बलराम अधिकारीलाई भेट्दा ‘पहिला किन नआएको सुजन भाइ? खेम पुनमा अडान लिएको हो भने म गर्थेँ नि’ भन्ने भनाइ उल्लेख गरिएको छ।

अडियोमा सचिव पोखरेललाई पोखराको नयाँबजारस्थित होटलमा बसेको बेला १० हजारको सामान, दुई बोतल ह्विस्की, दुई वटा वन कुखुरा र पाँच लाख नगद बुझाएको समेत दाबी छ।

राजीनामा दिएका मन्त्री गुप्ताको अर्को अडियोमा उनी ‘पशुपतिनाथ र छोराको कसम’ खाँदै आफू काम गर्न प्रतिबद्ध रहेको बताउँछन्। एक संवादमा उनले “तपाईंको समस्या मेरो समस्या हो” भन्दै सहयोगको आश्वासन दिएका छन्।

अडियोमा प्रकाश दाहाल, आर्यन शर्मा लगायतका नाम समेत आएका छन्। उनीहरूले मन्त्री बलराम अधिकारीको छोरा पोखरा आएको बेलामा रकम बुझाएको र रामचन्द्रको सरुवामा भूमिका खेलेको दाबी गरिएको छ। अडियो अन्तर्गत मन्त्री अधिकारीलाई ३२ लाख रुपैयाँ ‘मन्त्री क्वार्टर’मै बुझाइएको विवरण पनि समावेश छ।

घटना क्रम क्रमशः बहस र छानबिनको केन्द्रमा पुगेको छ। अझै कुनै औपचारिक कारवाही वा प्रतिक्रिया भने आउन बाँकी छ।