बाढी पीडितको सहयोगार्थ नेपाल रेडक्रसलाई चाइनीज रेडक्रसबाट १ लाख डलर सहयोग
News Desk
Jul-17 , 2025 तारिख 12:26 बेलुका

काठमाडौं, श्रावण १ | हालै आएको बाढीका कारण प्रभावित नेपाली समुदायलाई राहत दिन चाइनीज रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई एक लाख अमेरिकी डलर (करिब १ करोड ३३ लाख रुपैयाँ) बराबरको आपत्कालीन आर्थिक सहयोग प्रदान गरेको छ।

नेपालस्थित चाइनिज दूतावासमा आज आयोजित एक औपचारिक समारोहमा चाइनिज राजदूत मिस्टर चेन सॉङले नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीलाई सो सहयोग हस्तान्तरण गर्नुभयो।

उक्त सहयोग विशेषगरी रसुवा जिल्लालगायत हालै बाढीबाट प्रभावित क्षेत्रका पीडितहरूलाई राहत तथा पुनःस्थापनाका लागि खर्च गरिनेछ।

चाइनीज रेडक्रसको तर्फबाट प्रदान गरिएको यो सहायता दुई मुलुकबीचको मित्रता र आपत्कालीन मानवता सहयोगमा आधारित आपसी सहकार्यको उदाहरणका रूपमा लिइएको छ।

नेपाल रेडक्रस सोसाइटीले सहयोगका लागि चाइनीज रेडक्रस तथा चिनियाँ सरकारप्रति आभार व्यक्त गरेको छ।