News Desk
काठमाडौं, श्रावण २ |पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्केपछि आगामी प्रतिनिधिसभा निर्वाचन (२०७९) मा कुन क्षेत्रबाट उम्मेदवारी दिन्छिन् भन्ने प्रश्नले नेपाली राजनीतिक वृत्त तताएको छ। नेकपा (एमाले) को सदस्यता नवीकरण गरी राजनीतिक पुनरागमन गरेकी भण्डारीले हाल राजधानीको काठमाडौं–४ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन सक्ने चर्चा तीव्र छ।
उक्त क्षेत्र नेपाली कांग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापाको बलियो प्रभाव क्षेत्रका रूपमा चिनिन्छ। थापा २०७० सालयता लगातार तीनपटक काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका छन्। यद्यपि, भण्डारीको पुनः प्रवेशसँगै उक्त क्षेत्रमा राजनीतिक समीकरण फेरिन सक्ने संकेत देखिएको छ।
पूर्वराष्ट्रपति भण्डारीको सक्रियता केवल उम्मेदवारीमा सीमित देखिएको छैन। हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले एमाले अध्यक्ष केपी शर्मा ओली अब अध्यक्षमा दोहोरिने संभावना नरहेको जनाउँदै, आफू नेतृत्व लिन सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारिन्। एमालेभित्र उनको पक्षमा नेताहरू खुल्न थालेका छन्, जसले आगामी विद्यान महाधिवेशन अघिको आन्तरिक समीकरणमा प्रभाव पार्न थालेको छ।
महाधिवेशनमा उमेरहद र कार्यकालको सिमाना जस्ता विषयमा निर्णय हुने तयारी छ, जसमा भण्डारीको भूमिकाले नयाँ मोड ल्याउने चर्चा छ।
काठमाडौं क्षेत्र भण्डारीको राजनीतिक सुरुवातको आधार क्षेत्र हो। उनका पति मदन भण्डारीको निधनपछि उनले काठमाडौं–१ को उपनिर्वाचन जितेर संसद् प्रवेश गरेकी थिइन्, जहाँ उनले कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईलाई हराएकी थिइन्।
पछिल्लो पटक २०६४ सालमा काठमाडौं–४ बाट लडेर उनी कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजित भएकी थिइन्।
हाल उनी काठमाडौंको बुढानीलकण्ठ–भंगालमा बस्दै आएकी छन्, जुन क्षेत्र काठमाडौं–४ मा पर्छ। यसरी भौगोलिक, राजनीतिक र भावनात्मक हिसाबले पनि भण्डारीको प्राथमिकता काठमाडौं–४ मा केन्द्रित देखिन्छ।
भण्डारी पूर्वविद्यार्थी नेतृ हुन्। अनेरास्ववियू हुँदै एमालेको केन्द्रिय राजनीतिमा प्रवेश गरेकी उनी दुई कार्यकाल पार्टीको उपाध्यक्ष बनिन्। २०५१ र २०५६ सालमा सांसद निर्वाचित भएकी भण्डारी २०६५ मा वातावरण तथा जनसंख्या मन्त्री र २०६६ मा रक्षामन्त्री भइन्। संविधान जारी भएपछि उनी २०७२ मा राष्ट्रपति बनिन् र दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालिन्।
भोजपुरमा जन्मिएकी भण्डारीले प्रारम्भिक शिक्षा भोजपुरमै र उच्च शिक्षा विराटनगरबाट गरेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमनले एमालेभित्र नेतृत्वको बहसलाई नयाँ दिशा दिएको छ। काठमाडौं–४ मा उनको उम्मेदवारीले गगन थापासँग प्रत्यक्ष प्रतिस्पर्धा निम्त्याउने सम्भावना बलियो बन्दै गएको छ। यदि भण्डारी उम्मेदवार बन्छिन् भने, यो निर्वाचन २०८४ को सबैभन्दा चासोको प्रतिस्पर्धा बन्ने निश्चितप्रायः छ।