एमालेमा विद्या भण्डारीलाई छेकबार , ओलीलाई बाटो सहज बनाउने गरी निर्णय
News Desk
Jul-18 , 2025 तारिख 07:40 बिहान

काठमाडौं | नेकपा एमालेले पार्टीको विधान संशोधन गर्दै ७० वर्षे उमेर सीमा र नेतृत्वका लागि तोकिएको दुई कार्यकालको सिमा हटाउने प्रस्ताव अघि सारेको छ। बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सो प्रस्ताव अनुमोदन गरेको हो। आज (शुक्रबार) दिउँसो १ बजे बस्ने पोलिटब्युरो बैठकमा यो प्रस्ताव पेश गरिनेछ।

प्रस्ताव अनुसार, अब पार्टी नेतृत्वमा उमेरका आधारमा रोक नहुनेछ भने दुई कार्यकालभन्दा बढी पनि नेताहरूले पद सम्हाल्न पाउनेछन्। यस्तो संशोधनले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा पुनः नेतृत्व सम्हाल्न सहज हुने देखिन्छ।

साथै बैठकले आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा दशौं महाधिवेशनका प्रतिनिधिहरू मात्र सहभागी हुने व्यवस्था गर्ने निर्णय गरेको छ। यस निर्णयले पूर्व उपाध्यक्ष विद्या भण्डारीको सहभागीता नहुने सम्भावनालाई बल दिएको छ। विद्या भण्डारीले हालै पार्टी सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।

सचिवालय बैठकमा करिब १० घण्टा लामो छलफलपछि विधान संशोधनका अन्य महत्वपूर्ण प्रस्तावहरूमा पनि सहमति जुटेको छ। यसअन्तर्गत वरिष्ठ उपाध्यक्षको पद हटाउने र पदाधिकारीको संख्या घटाउने तयारी समेत गरिएको छ। वर्तमान १९ जना पदाधिकारी घटाएर १५ जनामा सीमित गर्ने सहमति जुटेको हो।

उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको प्रारम्भिक प्रस्तावमा ११ पदाधिकारी राख्ने भनिएको थियो तर छलफलपछि १५ पदाधिकारीसम्म कायम राख्ने सहमति भएको हो।

संशोधित विधान प्रस्तावलाई पोलिटब्युरो र केन्द्रीय कमिटीको छलफलपछि भदौ २० गतेदेखि सुरु हुने विधान महाधिवेशनले पारित गरेपछि ११ औं महाधिवेशनबाट कार्यान्वयनमा ल्याइनेछ।

पार्टी अध्यक्ष ओली र अन्य नेताहरूबीच विद्या भण्डारीको पुनः सक्रियता र सदस्यता नवीकरणको विषयमा केही मतभेद देखिएको समाचार बाहिरिएको छ, जसले आगामी महाधिवेशनमा अझ चासो थपिएको छ।

धेरै पढिएको