इँटाभट्टा काण्डः आफताब आलमविरुद्ध सर्वोच्चमा पुनरावेदन
News Desk
Jul-19 , 2025 तारिख 12:35 बेलुका

काठमाडौं, साउन ३ |रौतहटको बहुचर्चित इँटाभट्टा काण्डमा उच्च अदालतबाट सफाइ पाएका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध अब सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुने भएको छ। शुक्रबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो।

स्रोतका अनुसार, सर्वोच्च अदालत प्रशासनले आइतबार औपचारिक रूपमा पुनरावेदन दर्ता प्रक्रिया अघि बढाउनेछ। पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा, २०६४ चैत २७ गते रौतहटमा भएको बम विस्फोटपछि घटनामा घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा हालेर मारिएको आरोपमा आलमसहित चारजनालाई जिल्ला अदालतले दोषी ठहर गरे पनि, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जेठ १४ गते उनीहरूलाई सफाइ दिएको थियो।

उक्त फैसलापछि चौतर्फी आलोचना सुरु भएको छ। पीडित पक्षले न्यायको अभाव भएको भन्दै गम्भीर असन्तुष्टि जनाइरहेका छन्। सामाजिक सञ्जालदेखि संसदसम्म यो मुद्दा पुनः चर्चामा आएको छ।

फैसला सुनाउने उच्च अदालतका दुई न्यायाधीशलाई सर्वोच्च अदालतले बोलाएको छ भने न्याय परिषद्ले उक्त निर्णय प्रक्रियाको समेत अनुसन्धान थालेको जानकारी प्राप्त भएको छ।

सार्वजनिक चासोको विषय बनेको यो मुद्दामा अब सर्वोच्च अदालतको निर्णयले कानुनी दृष्टान्त मात्रै होइन, न्यायमा जनविश्वास पुनः स्थापित गर्नसक्ने अपेक्षा गरिएको छ।