News Desk
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा संलग्नतासम्बन्धी विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै नेतृत्व लिने जिम्मेवारी पाएका छन्। दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकले अध्यक्ष ओलीलाई नै विषय टुंग्याउने जिम्मा दिएको हो।
बैठकको समापनमा अध्यक्ष ओलीले भण्डारीको पार्टी भूमिकाबारे उठेका सुझावहरूलाई समेट्दै ५ साउनमा बस्ने केन्द्रीय समिति बैठकअघि नै आवश्यक निर्णयमा पुग्ने बताएको एमालेका एक नेताले राज्यदैनिकलाई जानकारी दिए।
"उहाँलाई कुन ढंगले समावेश गर्ने र के जिम्मेवारी दिने भन्नेबारे अध्यक्ष स्वयंले नेतृत्व लिनुहुनेछ," ती नेताले बताए, "आवश्यक सुझावहरू समेटेर केन्द्रीय समितिमा प्रस्ताव गर्ने निर्णय गरिएको हो।"
साथै, केन्द्रीय समिति बैठकअघि नै सचिवालय बैठक बस्ने र उक्त छलफललाई औपचारिक बनाइने जानकारी पनि दिइएको छ।
बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा आउने निर्णयबारे आफूलाई पूर्वसञ्चार नगरेकोप्रति केही खिन्नता व्यक्त गरेको पनि ती नेताले खुलाए। "विद्या भण्डारीले पार्टी नेतृत्वसँग छलफल गर्नुपर्थ्यो, जुन भएन। त्यो हाम्रो गुनासो हो," उनले भने।
यद्यपि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने भण्डारीको सदस्यता नवीकरण विषयलाई हालका लागि पार्टी विधानको धारा ८ र ९ अन्तर्गत पेन्डिङ राखिएको बताएका थिए। तर, ओलीले समापन मन्तव्यमा कुनै निर्णय नभएको स्पष्ट पारेका थिए।
"न पेन्डिङ, न होल्डिङ, अहिलेसम्म कुनै निर्णय भएको छैन," बैठकमा सहभागी एक नेताका अनुसार ओलीले भनेका छन्, "समयअनुसार पार्टीले निर्णय गर्छ।"
बैठकमा सहभागी ६८ पोलिटब्युरो सदस्यमध्ये धेरैले पूर्वराष्ट्रपति भण्डारीको पार्टी प्रवेशलाई गम्भीर राजनीतिक विषय ठानी, त्यसबारे स्पष्ट दिशानिर्देशन दिन अध्यक्ष ओली र भण्डारी स्वयंबीच प्रत्यक्ष छलफल आवश्यक रहेको सुझाएका थिए।
ओलीले पनि ती सुझावहरूलाई ग्रहण गर्दै, आफैं भण्डारीसँग संवाद गर्ने र त्यसपछि मात्र निर्णयमा पुग्ने धारणा राखेका थिए। "अहिलेलाई कुनै निर्णय गर्नु आवश्यक छैन, सबैको धारणा लिइसकेपछि मात्र निष्कर्षमा पुग्नेछौं," अध्यक्ष ओलीले बैठकमा भनेका थिए।