आर​ एण्ड​ डि सेफ​ बरालको `मःमःका पाइलाहरु´काे विमाेचन
News Desk
Jul-20 , 2025 तारिख 12:37 बेलुका

लन्डन, बेलायत - १९ जुलाई २०२५ | आर​ एण्ड​ डि सेफ​  विनाेद बरालद्वारा लिखित `म:म:का पाइलाहरु´ काे विमाेचन सम्पन्न भएकाे छ।

बेलायतमा बासाेबास गर्दै आउनुभएका बरालकाे पुस्तक लण्डनस्थित विजनेश डिजाइन सेन्टरकाे `दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल´मा विमोचन भएको हो ।

 साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, मदिराविद् तारा वाइबनले कृति विमोचन गर्नु भएको थियो । 
विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भन्नुभयो - `हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ । यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ ।´ 
नयाँघरेले अरु भन्नुभयो - ` नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भुमिका खेल्ने छन् ।´ 
कार्यक्रममा लेखक बरालले `आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने´ बताउनु भयो । 
अभियन्ता गुरुङ, उद्यमी वाइबन, राईले कृति सफलताका लागि शुभकामना दिनुभएको थियो ।  कार्यक्रमकाे आयाेजकमा माे: माे: फाउन्डेसन र सहआयाेजकमा सरस्वती केन्द्र नेपाल रहेकाे थियो ।

पोखरामा जन्मनुभएका बराल लामाे समयदेखि लण्डनमा बस्दै आउनु भएकाे छ। बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायकाे सहयोगका लागि उत्तिकै क्रियाशील रहेकाे जानकारहरु बताउँछन् ।