News Desk
काठमाडौं, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार अपरान्ह एक घण्टा लामो भेटवार्ता एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सम्पन्न भयो। यो भेट राजनीतिक वृत्तमा निकै चासोको विषय बनिरहेको छ।
यसअघि शनिबार सम्पन्न एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीबारे आफैंले वार्ता गर्ने र त्यसपछि मात्रै पार्टी निर्णयमा पुग्ने बताएका थिए। यही घोषणाअनुसार आइतबारको यो भेटलाई हेर्ने गरिएको छ।
भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन, तर राजनीतिक वृत्तमा गहिरो विश्लेषण भइरहेको छ -के ओलीले भण्डारीलाई पार्टीमा कुनै जिम्मेवारी दिनेछन् त? वा उनी पुनः सदस्यता नविकरण गरेर पार्टी राजनीतिमा फर्किए पनि सक्रिय भूमिकाबाट रोकिँनेछ?
एक पोलिटब्युरो सदस्यका अनुसार, शनिबारको बैठकमा ओलीले स्पष्ट शब्दमा भनेका थिए, ‘विद्या भण्डारी एमाले अध्यक्ष बन्न सक्दिनन्।’ यस अभिव्यक्तिले ओली र भण्डारीबीचको सम्भावित शक्ति संघर्षलाई सतहमा ल्याएको छ।
ओलीको भनाइ अझै रोचक थियो—‘पूर्वराष्ट्रपति, सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी नेतृत्वमा आउनु उपयुक्त हुँदैन।’ उनले न केवल भण्डारीको अध्यक्ष बन्ने सम्भावना खारेज गरे, बरु एमालेभित्र आफू सेकेन्डम्यानको हैसियतमा बस्ने अवस्था आयो भने पार्टी नै छोड्ने चेतावनीसमेत दिए।
तर ओलीको 'छोडेर जान्छु' भन्ने भनाइलाई पार्टी फुटको संकेत भनेर नबुझ्ने स्पष्ट संकेत पनि उनले दिए। ‘छोडेर जान्छु भनेको बालकोट जान्छु भन्ने हो, घरमा त फस्टम्यान म नै हुन्छु नि,’ भन्दै उनले हल्काफुल्का शैलीमा कुरा मोडे।
ओलीले आफ्नो नेतृत्वको औचित्य व्याख्या गर्दै विगत झिके—२०५० सालको दासढुङ्गा दुर्घटनापछि महासचिव बन्न सक्ने अवसर आएको तर आफूले लिएका थिएनन्। त्यसबेलाको प्रसंग सुनाउँदै उनले ईश्वर पोखरेल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीजस्ता नेताहरूले उनलाई महासचिव बनाउन समर्थन गरेको दाबी गरे।
त्यही बैठकमा सुरेन्द्र पाण्डेले पनि पुष्ट्याइदिए—‘उहाँलाई महासचिव बनाउने प्रस्ताव वामदेव गौतमबाट आएको थियो।’ यसले ओलीको सन्देशलाई थप बल दियो।
ओलीले ७० वर्षे उमेर हद हटाउने विषयमा पनि खुलस्त धारणा व्यक्त गरे। उनका अनुसार, ‘विधान प्रस्ताव तयार पार्दा विष्णु पौडेलमार्फत त्यो हद हटाउने निर्णय आफैंले गराएका थिए।’ उनले भने, ‘को हटाउने भनेर सोध्ने हो भने जवाफ चाहिनेछ, त्यसैले म आफैंले हटाएको भनेर भन्न लगाएको हुँ।’
पोलिटब्युरो सदस्यहरूको विश्वासमा ओलीको शनिबारको कडा धारणा आइतबारकै भेटमा एकाएक परिवर्तन भएको छ भन्ने सम्भावना न्यून छ।
यसरी हेर्दा, पूर्वराष्ट्रपति भण्डारीको सम्भावित भूमिका एमालेभित्र के हुन्छ भन्ने बहस अझै बाँकी देखिन्छ, तर ओलीको ‘फस्टम्यान’ नछोड्ने अडानले उनलाई दोस्रो पंक्तिमा सर्ने वातावरण तत्काल बनेको देखिन्न।