News Desk
काठमाडौँ, साउन ५ | साउनको पहिलो सोमबारको अवसर पारेर पशुपति क्षेत्रमा रुद्राक्ष व्यवसायी संघले श्रद्धालु भक्तजनहरूलाई निःशुल्क रुद्राक्षमाला र पिउने पानी वितरण गरेको छ। श्री महादेवको व्रत बस्ने भक्तजनहरूलाई प्रसादस्वरूप यो कार्य गरिएको हो।
हरेक वर्ष महाशिवरात्रि र साउन सोमबारको अवसरमा पशुपति क्षेत्रमा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थित भइरहनेक्रममा संघले धार्मिक भावना अभिवृद्धि गर्ने उद्देश्यले सेवा प्रदान गर्दै आएको छ। हिन्दू धर्म अनुसार रुद्राक्षलाई वैदिक शास्त्रमा पवित्र तथा अलौकिक शक्तिको प्रतीक मानिन्छ।
कार्यक्रमको उद्घाटन रुद्राक्ष व्यवसायी संघका केन्द्रिय अध्यक्ष मनोज कुमार चापागाईंले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। भक्तजनहरूलाई कुल ११ हजार १ सय १ वटा रुद्राक्षमाला वितरण गरिएको जानकारी भोजपुर जिल्ला उपाध्यक्ष सुशान्त श्रेष्ठले दिनुभयो।

नेपालमा हाल भोजपुर, संखुवासभा, धनकुटा लगायत ४० भन्दा बढी जिल्लामा रुद्राक्ष उत्पादन भइरहेको छ। संघका अध्यक्ष चापागाईंका अनुसार हाल नेपालबाट वार्षिक ३ देखि ४ अर्ब रुपैयाँ बराबरको रुद्राक्ष विदेश निर्यात भइरहेको छ।
कार्यक्रममा काठमाडौँ जिल्ला अध्यक्ष सुवोध श्रेष्ठले रुद्राक्षको प्रयोग केवल विदेशमा मात्र होइन, नेपालभित्र पनि बढ्दै गएको उल्लेख गर्दै हाल खादा र मालाको सट्टा रुद्राक्षमाला प्रयोग गर्न थालिएको जानकारी दिनुभयो।
धार्मिक आस्थालाई प्रवर्द्धन गर्दै सामाजिक सेवाको भावनाबाट सञ्चालित यो अभियानलाई भक्तजनहरूले निकै स्वागत गरेका छन्।
