स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमुनिका किशोरीहरूका डिम्ब अवैध रूपमा कारोबार भएको भन्ने घटनाको गम्भीरताका साथ अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थापाथलीस्थित प्रसूति गृहमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा गठित समितिमा मन्त्रालयको नीति, योजना तथा अनुगमन शाखाकी डा. सुनिता लम्साल र कानुन अधिकृत सुरेश चौलागाईँ सदस्य छन्। समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
"डिम्ब अवैध रूपमा संकलन तथा कारोबार गरिएको भन्ने सूचनाको आधारमा हामीले छानबिन समिति बनाएका छौं। समितिका सदस्यहरूले हिजोबाट काम सुरु गरिसक्नुभएको छ। प्रतिवेदन आएपछि थप निर्णय लिइनेछ," प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।
यसअघि, प्रहरीले होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमा छापा मारी किशोरीको डिम्ब अवैध रूपमा कारोबार गरिएको आरोपमा अनुसन्धान थालेको थियो। सो क्रममा होप फर्टिलिटीबाट पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।