माइखोलाको मुहान जोगाउन डाँडाकाँडा संरक्षणमा जुटे स्थानीय
News Desk
Jul-23 , 2025 तारिख 11:57 बिहान

इलाम र झापाका लागि जीवनदायिनी मानिने माइखोलाको मुहान क्षेत्र अतिक्रमण र उजाडिँदै जान थालेपछि चिन्ता बढेको छ। सोही कारणले हाल स्थानीय बासिन्दाहरूले यसको संरक्षणका लागि डाँडाकाँडामा वृक्षरोपण र वन क्षेत्र पुनःस्थापना अभियान थालेका छन्।

इलामका चार प्रमुख खोलामध्ये माइ र जोगमाइ खोलाको मुहान क्षेत्रमा खुला चरिचरन नियन्त्रण गर्दै संरक्षणको प्रयास तीव्र बनाइएको हो। विशेषतः जैविक विविधता, पानीको स्रोत र पर्यटकीय सम्भावनाले भरिपूर्ण उत्तरी इलामको कालपोखरी–विखे क्षेत्रका डाँडाकाँडा जोगाउन सामुदायिक सहभागिता बढ्दो छ।

यो क्षेत्र भारतको दार्जिलिङस्थित सिंहलिला राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। जहाँ भारततर्फ घना जंगल विद्यमान छ भने नेपालतर्फका धेरै भू-भाग अतिक्रमणका कारण उजाड बन्दै गएका छन्। दैनिक सयौँ पर्यटकको ओहोरदोहोर हुने यस क्षेत्रमा जैविक सन्तुलन बिग्रन थालेपछि संरक्षणमा चासो बढेको हो।

इलाम सदरमुकामबाट करिब ४० किलोमिटर टाढा अवस्थित सन्दकपुर क्षेत्र ३६३६ मिटरको उचाइमा रहेको माइखोलाको मुख्य मुहान हो। यस क्षेत्रका ३ हजार मिटरमाथिका सहायक मुहानहरू समेत सुक्दै गएपछि हाल सन्दकपुर–२ माईमझुवाको फुस्रेपोखरी, माईजोगमाई–५ को जोरपोखरी लगायतका क्षेत्रमा वृक्षरोपण अभियान तीव्र पारिएको छ।

रेडपाण्डा लगायत दुर्लभ प्रजातिका जनावर पाइने यस क्षेत्रमा विशेष गरी भालुचिण्डे, टेंगालजस्ता लेकाली वनस्पति रोपिएको छ, जुन रेडपाण्डाको मुख्य आहाराका रूपमा चिनिन्छन्।

स्थानीयहरूकै अगुवाइमा सञ्चालित संरक्षण अभियानमा वातावरण क्षेत्रमै सक्रिय सहयात्रा नेपालले प्राविधिक तथा सामग्रीगत सहयोग पुर्याइरहेको छ। रोपिएका बिरूवाहरू सुरक्षित रहुन् भनेर मालिङ्गो, घुँडे जस्ता परम्परागत बार लगाउने उपाय समेत अपनाइएको छ।