News Desk
अबदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) अन्तर्गत सञ्चालन हुने पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा भर्ना हुन प्रवेश परीक्षा दिनुपर्ने छैन। परिषदले यस वर्षदेखि प्रवेश परीक्षा खारेज गर्दै एसईई परीक्षामा प्राप्त ग्रेड प्वाइन्ट एभरेज (GPA) लाई नै भर्नाको आधार बनाउने निर्णय गरेको हो।
यस निर्णयसँगै, नर्सिङ पढ्न इच्छुक विद्यार्थीहरूलाई प्रवेश परीक्षाका लागि काठमाडौँ आउनु पर्ने झन्झट अन्त्य भएको छ।
CTEVT का सूचना अधिकारी एकराज अधिकारीका अनुसार, इच्छुक विद्यार्थीले अनलाइन फारममार्फत आवेदन दिनुपर्नेछ। साउन ६ गतेबाट अनलाइन आवेदन खुला भइसकेको छ भने साउन २६ गते राति ११:५९ बजे सम्म फारम भरिसक्नु पर्नेछ।
न्यूनतम GPA: फारम भर्नका लागि एसईई/एसएलसीमा कम्तीमा २.० GPA अनिवार्य छ।
आवश्यक कागजातहरू:
ग्रेडसिट
नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र
पासपोर्ट साइजको फोटो
सरकारी विद्यालयमा अध्ययन गरेको पुष्टि गर्ने पालिकाको सिफारिस (यदि लागू भएमा)
अन्य कोटाका लागि आवश्यक प्रमाणपत्र (दलित, मुस्लिम, जनजाति, अपांगता आदि)
CTEVT को वेबसाइट —
www.ctevt.org.np वा www.ctevtexam.org.np मा जानुहोस्।
Classified Online Form मा क्लिक गर्नुहोस्।
PCL Nursing चयन गरी "New User" मा क्लिक गर्नुहोस्।
नाम, थर, मोबाइल नम्बर राखी "Proceed" गर्नुहोस्।
"Pay Now" मा क्लिक गरी Connect IPS वा Khalti बाट रु. 1000 परीक्षा शुल्क तिर्नुहोस्।
शुल्क भुक्तानी भई verification आएपछि आफ्नो पासवर्ड सेट गर्नुहोस्।
त्यसपछि फारम खुल्छ—त्यसमा सबै आवश्यक विवरणहरू भरी आवश्यक कागजातहरू अपलोड गर्नुहोस्।
यदि अनलाइन फारममा फोटो, कागजात वा शुल्क समयमै नपुगेमा आवेदन स्वतः रद्द हुनेछ।
यसपालि छात्रवृत्तिका लागि पनि अलग परीक्षा हुने छैन।
छात्रवृत्तिको छनोट पनि एसईईको GPA का आधारमा हुनेछ।
सरकारी विद्यालयबाट एसईई/एसएलसी दिएको विद्यार्थीले मात्र छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।
अन्य वर्गका (दलित, मुस्लिम, जनजाति, अपांगता) विद्यार्थीले सम्बन्धित प्रमाणपत्र अपलोड गर्नुपर्नेछ।
छात्रवृत्तिको आवेदन पनि अनलाइनबाटै तोकेको समयसीमा भित्र पेश गर्नुपर्नेछ। फारम स्वीकृत भएपछि अनलाइन स्वीकृति कार्ड डाउनलोड/प्रिन्ट गर्न सकिन्छ, जुन भर्ना र दर्ता प्रक्रियामा अनिवार्य हुनेछ।
सबै विद्यार्थीले अध्ययन गर्न चाहेको संस्था, प्रदेश, वर्गको प्राथमिकता अनलाइन फारममा स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ।
यस प्रणालीले समावेशिता, पहुँच र पारदर्शिता प्रवर्द्धन गर्ने विश्वास सीटीईभीटीले लिएको छ।