News Desk
काठमाडौं, साउन ९। बढ्दो वर्षासँगै काठमाडौं उपत्यकामा डेंगु संक्रमणको जोखिम उच्च बन्दै गएको सन्दर्भमा काठमाडौँ महानगरपालिका ४ अन्तर्गत टुँडालदेवी क्षेत्र, इच्छुमति एरिया तथा वरपरका भित्री सडक क्षेत्रहरूमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
लामखुट्टेको नियन्त्रण तथा डेंगुबारे सचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र टुँडालदेवी, सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी तथा इच्छुमति टोल सुधार समितिको संयुक्त पहलमा सम्पन्न गरिएको हो। कार्यक्रम ‘समुदाय–प्रहरी साझेदारी अभियान’ अन्तर्गत सञ्चालन गरिएको थियो।
कार्यक्रमका अवसरमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष तथा वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले डेंगुजस्ता महामारीबाट मानव स्वास्थ्य जोगाउन र समाजमा जनचेतना फैलाउन सामूहिक पहल आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “डेंगु संक्रमण लक्षणविना पनि हुनसक्छ। संक्रमित व्यक्तिले आफू बिरामी भएको महसुस नगरी अरूलाई पनि सर्न सक्ने भएकाले सावधानी अत्यन्त जरुरी छ। त्यसैले फूलदानी, टायर, खुला ड्रम वा ट्यांकीमा जमेको पानीजस्ता लामखुट्टे बस्न सक्ने स्थानहरूलाई नियमित रूपमा सफा गर्नु आवश्यक छ।”

कार्यक्रममा नेपाली सेनाका पूर्व रथी यादव रायमाझी, पूर्व उपरथी शिवराम प्रधान, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (प्र.अ.म.नि.) अमरसिंह शाह, सुरक्षा विज्ञ निरज शाही, मालीगाउँ प्रहरी वृत्तका प्रहरी निरीक्षक दावा तेन्जिङ शेर्पा, नेप्सेम्यपका प्रतिनिधि, युनिभर्सल स्कूलका विद्यार्थी तथा शिक्षकहरू, स्थानीय समाजसेवी, युवा, महिला तथा बृद्ध समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
सहभागीहरूले प्लेकार्ड, ब्यानर र माइकिङमार्फत डेंगुबाट बच्ने उपायहरू, जस्तै घर वरिपरि पानी नजम्न दिने, झ्यालमा जाली लगाउने, बिहान–बेलुका लामखुट्टे भगाउने धूप वा क्रिमको प्रयोग गर्ने—बारे सर्वसाधारणमा जानकारी दिएका थिए। साथै, इच्छुमति टोल सुधार समितिको नेतृत्वमा घर–घरमै पुगेर सरसफाइको अनुगमन तथा सचेतना अभिवृद्धि गरिएको थियो।
कार्यक्रमको अन्त्यमा टुँडालदेवी सामुदायिक सेवा केन्द्रले आगामी दिनहरूमा विभिन्न स्थानमा निरन्तर रुपमा यस्ता जनचेतनामूलक कार्यक्रम, सफाइ अभियान तथा निःशुल्क डेंगु परीक्षण शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ।
समुदाय, प्रहरी, शैक्षिक संस्था र समाजसेवीहरूको संयुक्त प्रयासबाट सञ्चालन गरिएको उक्त अभियानले डेंगु संक्रमणको जोखिम न्यूनीकरणमा प्रभावकारी योगदान पुर्याउने विश्वास आयोजकहरू र सहभागीहरूले व्यक्त गरेका छन्।



