News Desk
वीरगन्ज |एनप्याब्सन वीरगन्जले एसईई (SEE) परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि “एनप्याब्सन मेगा छात्रवृत्ति कार्यक्रम २०८१” को घोषणा गरेको छ। वीरगन्जको पानीटंकी टोलमा अवस्थित Decimal College को BBA भवनमा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइएको हो। कार्यक्रममा एनप्याब्सन वीरगन्ज महानगर अध्यक्ष जियालाल गुप्ताले उक्त छात्रवृत्ति परीक्षामा एनप्याब्सनमा आबद्ध विद्यालयहरूका साथै प्याब्सन, सामुदायिक विद्यालय तथा अन्य शिक्षण संस्थाहरूका विद्यार्थीहरू सहभागी हुन सक्ने जानकारी गराए। एसईईमा नन-ग्रेड (NG) ल्याएका विद्यार्थीहरूलाई समेत सहभागी हुन दिने व्यवस्था मिलाइएको छ।
कार्यक्रमको उद्देश्य पर्सा जिल्लासँगै देशभरिका प्रतिभाशाली तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउनु रहेको छ। छात्रवृत्ति परीक्षा अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने ३५ जना विद्यार्थीले Decimal College, Peace Zone Academy, PMC Academy, Tejas Academy लगायत वीरगन्जका पाँचवटा प्लस टु विद्यालयमा कक्षा ११ र १२ को पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने शीर्ष तीन जनालाई विशेष पुरस्कार पनि प्रदान गरिनेछ। पहिलो हुने विद्यार्थीलाई ल्यापटपसहित पूर्ण छात्रवृत्ति, दोस्रो हुनेलाई ट्याब र छात्रवृत्ति तथा तेस्रो हुनेलाई साइकलसहित पूर्ण छात्रवृत्ति दिइनेछ।
छात्रवृत्ति परीक्षाको फारम भर्ने अन्तिम मिति साउन १० गते (शनिबार) साँझ ५ बजेसम्म तोकिएको छ। प्रवेश पत्र सोही दिनदेखि वितरण गरिनेछ भने परीक्षा साउन ११ गते (आईतबार) बिहान ७ बजेदेखि ८ बजेसम्म वीरगन्जको होलिल्याण्ड स्कूल, रानिघाटमा सञ्चालन हुनेछ। फारम एनप्याब्सनको आधिकारिक वेबसाइट तथा क्युआर कोड स्क्यानमार्फत अनलाइन भर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रमका बारेमा थप जानकारी दिँदै एनप्याब्सन वीरगन्जका नगर सचिव शेख अजहरले यस छात्रवृत्ति कार्यक्रमले स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय तहका विद्यार्थीहरूलाई समेत लाभ पुर्याउने विश्वास व्यक्त गरे। पत्रकार सम्मेलनमा एनप्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, केन्द्रीय सदस्य अरविन्द सिंह, सल्लाहकार प्रेम कुमार यादव, सन्तोष गुप्ता, राम सुन्दर चौधरीलगायत विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।