बागमती प्रदेशमा राजनीतिक संकट: चार मन्त्रीको सामूहिक राजीनामा, अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी
News Desk
Jul-25 , 2025 तारिख 05:35 बेलुका

काठमाडौं, साउन ९ । बागमती प्रदेश सरकार आन्तरिक विवादमा फसेको छ। बजेट वितरणमा पक्षपात गरिएको आरोप लगाउँदै नेपाली कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले आज एकसाथ पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ छन्।

राजीनामा दिने मन्त्रीहरूले सार्वजनिक रूपमै प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै आफन्तीय क्षेत्रलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्। उनीहरूले बजेट निर्माणमा मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री कुन्दनराज काफ्लेले पार्टी समन्वयविना मनपरी ढंगले बजेट बाँडफाँड गरेको गम्भीर आरोप लगाएका छन्।

राजीनामा पश्चात सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मीनकृष्ण महर्जनले प्रदेश सरकारको एक वर्षे कार्यकाल असफल भएको टिप्पणी गरे। उनले भने, “बजेट ल्याउने क्रममा जनताको हितभन्दा नेताका निकट क्षेत्रलाई प्राथमिकता दिइयो। यस्तो सरकारमा बसेर औचित्य छैन भन्ने निष्कर्षमा पुग्यौं। त्यसैले चारैजना मिलेर राजीनामा दिएका हौं।”

यसैबीच, चारैजना मन्त्रीले केही दिनअघि नेपाली कांग्रेसका शीर्ष नेता तथा सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको तथ्य सार्वजनिक भएको छ। भेटपछि कांग्रेसभित्र सरकारको नेतृत्वप्रति गहिरो असन्तुष्टि देखिएको बुझिएको छ।

मन्त्रीहरूको राजीनापछि अब मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी कांग्रेसभित्र तीव्र रूपमा अघि बढाइएको छ। महर्जनका अनुसार कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये २४ जनाले संसदीय दलमा हस्ताक्षर गरिसकेका छन्। अब औपचारिक रूपमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव दर्ता गरिने तयारी भइरहेको छ।

यस घटनाले बागमती प्रदेश सरकारमा राजनीतिक अस्थिरता गहिरिँदै गएको संकेत दिएको छ। अबको समिकरण र संभावित सत्ता पुनर्गठनबारे राजनीतिक वृत्तमा व्यापक चासो बढेको छ।

–राज्य दैनिक

धेरै पढिएको