प्रधानमन्त्री ओलीको दाबी : “संयुक्त सरकार विकास र सुशासनमा समर्पित”
News Desk
Jul-26 , 2025 तारिख 06:19 बिहान

जलेश्वर | प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको गति तीव्र बनाउँदै लैजान वर्तमान संयुक्त सरकारले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ। महोत्तरीको मटिहानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले)जस्ता दुई ठूला दलहरूको सहकार्यमा बनेको सरकारले स्थायित्व, विकास र सुशासनमा ध्यान केन्द्रित गरिरहेको स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री ओलीले एमाले, कांग्रेस, लोसपा, जनमत लगायतका दलहरूको साझेदारीमा बनेको वर्तमान सरकारले स्पष्ट नीति, कार्यक्रम र उद्देश्यका साथ हिमाल, पहाड र तराई–मधेस सबै क्षेत्रलाई समेटेर समावेशी विकासको दिशा लिएको बताउनुभयो। जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, सडक जस्ता क्षेत्रलाई प्राथमिकतामा राखी सरकार अघि बढेको उहाँको भनाइ थियो।

प्रधानमन्त्री ओलीले मटिहानीको विग्ही नदीमा निर्माण गरिएको पुल उद्घाटनसँगै अब जनकपुरसम्मको पहुँच सहज भई व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पुलले स्थानीय जनजीवनमा उल्लेखनीय परिवर्तन ल्याउनेछ।

कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत वक्ताहरूले मधेस प्रदेशमा रहेको खानेपानी र सिंचाइको समस्या समाधानका लागि दीर्घकालीन योजनाको आवश्यकतामाथि जोड दिनुभयो।

उक्त अवसरमा तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र स्थानीय जनताको संयुक्त प्रयास एवं समन्वयमार्फत प्रदेशका समस्या समाधानतर्फ सबै पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

धेरै पढिएको