पूर्व प्रदेश प्रमुख गुरुङको निधनमा दुःख व्यक्त
News Desk
Jul-27 , 2025 तारिख 11:47 बिहान

गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि एवं परिवारजनमा समवेदना व्यक्त गरेका छन।

प्रदेशप्रमुख भट्टले आज शोक सन्देश व्यक्त गर्दै गुरुङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित भएको उल्लेख गरे। 

करिब ३२ महिना गण्डकी प्रदेशवासीको अभिभावकका रूपमा प्रदेशप्रमुख पदमा रही प्रदेशको गहन जिम्मेवारी बहन गरेका कुशल एवं अनुभवी व्यक्तित्व गुरुङको निधनबाट ठूलो क्षति पुगेको आफूले महसुस गरेको उनले सन्देशमा भनेका छन।

अभिभावक गुमाएका स्व गुरुङका शोकसन्तप्त परिवारजन र स्वजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै प्रदेशप्रमुख भट्टले गण्डकी प्रदेशवासी र आफ्नो व्यक्तिगततर्फबाट हार्दिक समवेदना व्यक्त गरेका छन।
    
गण्डकी प्रदेशको कास्की जिल्ला साविक घलेल गाविस ४ मा जन्मिएका गुरुङका परिवार बसाइँसराइँ गरी हाल चितवनको भरतपुर महानगरपालिका २६, दिव्यनगरमा बस्दै आएका छन।

पछिल्लो समय क्यान्सरसँग लडिरहेका पूर्वप्रमुख गुरुङको ७६ वर्षको उमेरमा दिव्यनगरस्थित निवासमा आज बिहान निधन भएको हो। उनको आइतवार मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएका छन।

विसं २०७८ साउन १२ गते प्रदेशप्रमुखमा नियुक्त भएका गुरुङ विसं २०८० फागुन २८ गतेसम्म उक्त जिम्मेवारीमा रहेका थिए।