सन्तोष कुँवर एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित
News Desk
Jul-27 , 2025 तारिख 12:53 बेलुका

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यकाल (२०२५–२७) का लागि सन्तोष कुँवर अध्यक्ष पदमा निर्वाचित भएका छन्। पूर्ण डिजिटल प्रणालीमार्फत सम्पन्न निर्वाचनमा उनले ६,८३९ मत प्राप्त गर्दै प्रतिस्पर्धी भैरवप्रसाद ढकाललाई ३,११२ मतले पछि पार्दै विजयी भएका हुन्। अर्का उम्मेदवार सञ्जीव ‘गोर्खाली’ ढकालले २,१२६ मत पाएका थिए।

जुलाई २६ मा सम्पन्न अनलाइन मतदानमा १६,१२१ सूचीकृत मतदाता मध्ये १३,७०१ जनाले मतदान गरे, जुन कुल मतदाता संख्याको ८४.९९ प्रतिशत हो। निर्वाचन आयोगले यसलाई अष्ट्रेलियाको एनआरएन इतिहासकै उच्चतम सहभागीता भएको निर्वाचनको रूपमा मूल्यांकन गरेको छ।

सन्तोष कुँवर विगत दशकदेखि एनआरएनए अष्ट्रेलियामा विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्। उनी अघिल्लो कार्यकाल (२०२३–२०२५) मा महासचिव थिए भने यसअघि राज्य संयोजक परिषद् सचिव, राज्य संयोजक, आईसीसी सदस्य र ओसेनिया क्षेत्रीय उपसंयोजकको भूमिकामा पनि काम गरिसकेका छन्।

‘बलियो नेपाली डायस्पोराका लागि सँगै’ भन्ने नाराका साथ उम्मेदवारी दिएका कुँवरले निर्वाचनअघि नै आर्थिक समृद्धि, लगानी प्रवर्द्धन, र समावेशी सहभागिता आफ्ना मुख्य एजेन्डा बनाएका थिए। उनले आगामी कार्यकालमा २ मिलियन अष्ट्रेलियन डलर बराबरको अनुदान सुरक्षित गर्ने लक्ष्य लिएका छन्, जसका लागि अनुदान तथा साझेदारी कार्यदल गठन गरिनेछ।

उनको योजनाअनुसार एनआरएनए फाउन्डेशनमार्फत परोपकारी कार्यक्रमहरू सञ्चालन गरिनेछ। बहुसांस्कृतिक कार्यक्रमहरूलाई प्रोत्साहन दिइनेछ र दोस्रो पुस्ताको सहभागिता सुनिश्चित गर्न एनआरएनए अन्तर्गत छुट्टै शाखा गठन गरिनेछ।

निर्वाचित पदाधिकारीहरूको सूची

  • उपाध्यक्ष: बबिन मिश्र (७,२६१ मत)

  • महासचिव: चुणमणि सापकोटा (७,०३०)

  • कोषाध्यक्ष: निजन चौलागाईं (७,०८७)

  • सचिव: कल्याण खड्का (७,१८०)

राज्य संयोजकहरू

  • न्यू साउथ वेल्स: उषाकिरण वारिया (१,२९१)

  • क्वीन्सल्याण्ड: अतुल खड्का (निर्विरोध)

  • टास्मानिया: सुजन वाग्ले (निर्विरोध)

  • दक्षिण अष्ट्रेलिया: थिरबहादुर गुरूङ (७२५)

  • नर्दन टेरिटोरी: त्रिलोचन सापकोटा (३६९)

  • भिक्टोरिया: महादेव धानुक (१,२८२)

  • एसीटी: ललित मल्ल (५९८)

  • वेस्टर्न अष्ट्रेलिया: हरिबंश सञ्जेल (१,१२८)

  • नारी संयोजक: रिज्नो अधिकारी

  • उप–संयोजक: प्रतिभा शाह (निर्विरोध)

  • युवा संयोजक: पुकार घिमिरे (निर्विरोध)

नवनिर्वाचित अध्यक्ष कुँवरले समावेशीता, पारदर्शिता र पेशागत नेतृत्वमार्फत एनआरएनए अष्ट्रेलियालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। उनले संस्था नेपाली समुदायको साझा गौरव हो भन्दै सबैलाई सहकार्य र योगदानका लागि आग्रह पनि गरेका छन्।