News Desk
राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन सम्पदा (कलाकृति) पुनःस्थापनका लागि इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले महाविहार संरक्षण समाजलाई ती प्राचीन कलाकृति हस्तान्तरण गरे।
हस्तान्तरण अघि सङ्ग्रहालय प्रमुख नकर्मी र समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य, उपाध्यक्ष रमेशमान शाक्य, सचिव रत्नसम्भव शाक्य र काठमाडौँ महानगरपालिका–२४ का सदस्य रत्नाकर बज्राचार्यले हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
यसरी फिर्ता गरिएका कलाकृति (थाङ्का)मा ३०० वर्ष पुरानो चिन्तामणि लोकेश्वर, ५७५ वर्ष पुरानो गगनसिंह भारोया र उनकी पत्नीसहितको थाङ्का (पौभा) र ३२१ वर्ष पुरानो केशचन्द्रसहितको भैरव रहेका छन । यो कलाकृति २०३७ साल भदौ २९ गते चोरी भएको थियो। चोरिएको कलाकृति अमेरिका पुर्याइएको पत्ता लागेपछि आवश्यक समन्वय गरी फिर्ता ल्याइएको हो।
उक्त कलाकृति ४५ वर्षपछि गत फागुन १९ गते नेपाल ल्याएर राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो। आज सोही कलाकृति उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरिएको हो। विसं २०३७ अघिसम्म गुँलापर्वका बेला १५ दिनसम्म यस महाविहारमा उक्त कलाकृति प्रदर्शन गरिन्थ्यो।