News Desk
नेपाल प्रहरीमा गत आर्थिक वर्षमा २ हजार ७१७ जना भर्ती हुँदा २ हजार ३६९ जनाले राजीनामा दिएका छन्।
आइतवार प्रहरीप्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो। प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले उक्त जानकारी दिएका हुन्।
उनले गत आर्थिक वर्ष २०८१।०८२ मा नयाँ नियुक्ति पदस्थापना २ हजार ७१७ जना रहेको बताए। त्यस्तै बढुवा र पदस्थापना ७ हजार ४ सयजना र सरुवा २१ हजार २२४ रहेको बताए। राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९४९ जना रहेको प्रवक्ता घिमिरेले बताए।
घिमिरेले भने, ‘यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना २ हजार ७१७ जना, बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २२४ रहेको छ। २ हजार ३६९ जनाले राजीनामा दिनुभएको छ। जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९४९ जना रहनुभएको छ। अनिवार्य अवकाशमा जाने ५२३ जना हुनुहुन्छ।’
प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरू ५२३ जना रहेको बताए।
उनका अनुसार गत आ.व.मा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने २ हजार ७३ जनालाई कारबाही गरिएको छ।