सीटीईभीटीद्वारा ४८० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, वार्षिक भत्ता र आवास सुविधा प​नि दिने
News Desk
Jul-28 , 2025 तारिख 12:43 बेलुका

काठमाडौं | प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले शैक्षिक पहुँचबाट वञ्चित समुदायका ४८० विद्यार्थीलाई लक्षित गर्दै पूर्ण छात्रवृत्ति योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले अध्ययन शुल्क तिर्नु पर्ने छैन, साथै प्रत्येक वर्ष ४६ हजार रुपैयाँ भत्ता पनि प्राप्त गर्नेछन्। विद्यार्थीहरूको आवासको व्यवस्था समेत परिषदले नै मिलाउनेछ।

छात्रवृत्तिको पहुँच ७८ स्थानीय तहका दलित, मुस्लिम, विपन्न तथा सीमान्तकृत समुदायमा सीमित गरिएको छ। आवेदन दिने प्रक्रियामा समेत कुनै शुल्क लाग्ने छैन।

परिषदका सूचना अधिकारी एकराज अधिकारीका अनुसार, कुल छात्रवृत्तिमध्ये ३६० जना विद्यार्थी विभिन्न २२ जातजातिका समूहबाट छनोट हुनेछन्। तीमध्ये दलित १११, मुस्लिम ४६, विपन्न १६७ र सीमान्तकृत ३६ जनाले छात्रवृत्ति पाउनेछन्। बाँकी १२० जनाको छात्रवृत्ति भने देशभरका ७८ स्थानीय तहमा प्रविधिक शिक्षाको न्यून पहुँच भएका क्षेत्रमा वितरण गरिनेछ।

सीटीईभीटीको यो पहलले देशका दुर्गम, सीमान्तकृत र आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।