सिन्धुलीका सम्पर्कविहीन १६ जनाको हायु परिवार पोखरा पुगेको पुष्टि
News Desk
Jul-29 , 2025 तारिख 06:03 बिहान

सिन्धुलीका हायु परिवार, जो केही दिनयता सम्पर्कविहीन थिए, पोखरा पुगेको पुष्टि भएको छ। प्रहरीले उनीहरूलाई पोखरामै फेला परेको जानकारी दिएको छ।

सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीका अनुसार, हायु परिवारको पोखरामा रहेको खबर प्राप्त भइसकेको छ र आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

उनीहरूलाई पोखरा पुर्याउने गाडी चालक पनि अहिले प्रहरी सम्पर्कमा छन्। अनुसन्धानका क्रममा खुलेको छ कि ती चालकले हेटौँडा हुँदै हायु परिवारलाई पोखरा पुर्याएर आफैँ सिन्धुली फर्किएका थिए।

बेपत्ता भएको भनिएको उर्मिला हायुको परिवारको खोजी शुक्रवारदेखि चलिरहेको थियो। यद्यपि, उनका छोरी-ज्वाईं भने काठमाडौँबाट सम्पर्कमा आएका थिए।

प्राप्त विवरणअनुसार, हायु परिवारले बिहीबार सरकारी भत्ता बुझेका थिए र शुक्रवार घरमै सुँगुर काटेर खाएका थिए। त्यसपछि उनीहरूले गाडी रिजर्भ गरेर रातिको समयमा हेटौँडा–मुग्लिन हुँदै पोखरातर्फ प्रस्थान गरेका थिए।

धेरै पढिएको