प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रानी–जमरा–कुलरिया सिँचाइ आयोजना दोस्रो तह र ४।७१ मेगावाट विद्युत प्रसारण लाइनको उद्घाटन
News Desk
Jul-31 , 2025 तारिख 11:46 बिहान

कैलाली, श्रावण १५ |सुदूरपश्चिम प्रदेशको कृषि तथा ऊर्जा क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याउने विश्वास गरिएको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना दोस्रो तह तथा ४।७१ मेगावाट क्षमताको जलविद्युत प्रसारण लाइनको आज एक विशेष समारोहबीच नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले आयोजनाको स्वचालित प्रणालीमार्फत उद्घाटन गर्दै सो अवसरमा सम्बोधन गर्नुभएको थियो। उहाँले आयोजनालाई सुदूरपश्चिम क्षेत्रको समृद्धिको मेरुदण्ड को रूपमा चित्रित गर्दै यसले कृषि उत्पादन वृद्धि, कृषकहरूको आम्दानीमा सुधार, र क्षेत्रीय ऊर्जा आपूर्तिमा आत्मनिर्भरता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

उक्त आयोजनाबाट अब कैलाली जिल्लाको १४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ, जसले वर्षभर बाली लगाउन सक्ने वातावरण सिर्जना गर्नेछ। साथै, यस अन्तर्गत निर्मित जलविद्युत संयन्त्रबाट उत्पादित ४।७१ मेगावाट विद्युत अब राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गरिनेछ।

समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सिँचाइ र जलविद्युत विकासले ग्रामीण अर्थतन्त्रमा नयाँ जीवन थप्ने भन्दै यस्ता परियोजनाहरूलाई सरकारको उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँले विकास र समृद्धिको यात्रामा सुदूरपश्चिमलाई पछाडि नपारिने र प्रत्येक जिल्लामा यस्ता पूर्वाधार विस्तार गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, कैलालीका स्थानीय जनप्रतिनिधि, किसान समूह, तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

विश्व बैंकको सहयोगमा सञ्चालित रानी–जमरा–कुलरिया आयोजना अन्तर्गत यस दोस्रो तहमा नहर, सिँचाइ व्यवस्थापन संरचना र जलविद्युत उत्पादन संयन्त्र निर्माण गरिएको हो। परियोजनाको उद्देश्य सिँचाइ सुविधाको विस्तारमार्फत आधुनिक कृषि प्रणालीलाई टेवा पुर्‍याउनु र कृषकहरूको जीवनस्तरमा सुधार ल्याउनु हो।

विद्युत उत्पादनतर्फ, उक्त ४।७१ मेगावाट विद्युतले स्थानीय तथा क्षेत्रीय आपूर्तिमा सघाउ पुर्‍याउने मात्र होइन, राष्ट्रिय ऊर्जा सुरक्षामा पनि योगदान दिनेछ। सरकार अब आयोजनाको तेस्रो तह अगाडि बढाउने तयारीमा रहेको जानकारी पनि दीएको छ।