News Desk
काठमाडौं । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शीघ्र जीवनरक्षा गर्न आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भट्टराईको स्वास्थ्य उपचारमा अविलम्ब ध्यान दिन र वार्तामार्फत समाधान खोज्न सरकारलाई सुझाव दिइएको छ।
नगरप्रमुख भट्टराईले जैविक विविधता र रैथाने संस्कृतिको संरक्षण, बाँस प्रवद्र्धन, जलवायु परिवर्तन न्यूनीकरण, क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन र खोटाङलाई बाँसको राजधानी घोषणालगायतका मागसहित साउन ११ गतेदेखि माइतीघरमा आमरण अनशन सुरु गर्नुभएको हो।
अनशनका क्रममा उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बन्दै गएकोप्रति आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले अनशनस्थल माइतीघर र उपचारस्थल वीर अस्पताल पुगेर निरीक्षण गर्नुका साथै नगरप्रमुख भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, अस्पतालका चिकित्सक तथा प्रशासकहरूसँग प्रत्यक्ष जानकारी लिएको जनाएको छ।