नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समिति गठन, विधान संशोधनमार्फत महासभा तयारीको अभियान सुरु
News Desk
Aug-03 , 2025 तारिख 01:00 बेलुका

काठमाडौं | देशभर मानवीय सेवामा अग्रणी भूमिका निर्वाह गरिरहेको नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मा वर्तमान असहज परिस्थितिको समाधानका लागि केन्द्रीय तदर्थ समिति गठन गरिएको छ। नेपाल सरकारले साउन ९ गतेको निर्णय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सिफारिसअनुसार श्री बिनोदकुमार शर्माको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरिएको हो।

समितिका उपाध्यक्ष हरि बराल, महामन्त्री मीनबहादुर मल्ल, कोषाध्यक्ष लोकदर्शन श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा प्रा. डा. हरिदर्शन श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, कान्ति राजभण्डारी, डा. गंगाधर अधिकारी र हेमराज ओझा छन्।

वि.सं. २०२० सालमा स्थापना भई संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई समाज कल्याण परिषद्मा आबद्ध रेडक्रस सोसाइटी नेपालभर आफ्नो सेवा विस्तार गर्दै आएको छ। सोसाइटीले नेपाल सरकारको सहयोगी संस्थाको रूपमा मानवीय कार्यहरू सञ्चालन गर्दै आएको छ।

वर्तमान समस्याको समाधानस्वरूप नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान संशोधन गर्दै संशोधित विधानअनुसार निष्पक्ष तथा स्वतन्त्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्नु नै समितिको प्रमुख कार्यभार हुनेछ। साउन १४ गते बसेको समितिको बैठकले नेपाल सरकार, समाज कल्याण परिषद्, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, र जिल्ला प्रशासन कार्यालय, काठमाडौंप्रति आभार प्रकट गरेको छ।

समितिले रेडक्रसका आदर्श, मूल्य मान्यता तथा सिद्धान्तहरूको पालनासहित तटस्थ र स्वतन्त्र रूपमा कार्य गर्दै निष्पक्ष निर्वाचनमार्फत नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। "सबैको रेडक्रस" बनाउने अठोटका साथ समितिले सबै सरोकारवालासँग सहकार्य गर्ने जनाइएको छ।

समितिले नेपाल सरकार, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, रेडक्रस महासंघ, साझेदार राष्ट्रिय सोसाइटीहरू, संयुक्त राष्ट्रसंघीय निकायहरू, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नेरेसोका पूर्वपदाधिकारी तथा सदस्य, प्रदेश/जिल्ला शाखा, जुनियर तथा युवा रेडक्रस सर्कल, कर्मचारी र शुभेच्छुकहरूलाई आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक आह्वान गरेको छ।