प्रगतिशील बन्धु समाज नेपालद्वारा एसईई २०८१ का ४५ जना विद्यार्थी सम्मानित
News Desk
Aug-03 , 2025 तारिख 09:48 बेलुका

काठमाडौं | प्रगतिशील बन्धु समाज नेपालले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने ४५ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ। काठमाडौंको बसुन्धरामा श्रावण १७ गते शनिबार आयोजित विशेष कार्यक्रममा ती विद्यार्थीहरूलाई प्रमाणपत्र र उपहार प्रदान गर्दै सम्मान गरिएको हो।

समारोहमा एकजना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराउने विशेष सम्झौता समेत गरिएको थियो। समाजले यस्तो पहलमार्फत शिक्षा र अवसरप्रतिको आफ्नो दृढ प्रतिबद्धता उजागर गरेको छ।

प्रगतिशील बन्धु समाज नेपाल सार्की समुदायका सदस्यहरूलाई संगठित गर्दै स्थापना गरिएको संस्था हो। देशभर छरिएर रहेका सार्की समुदायलाई एक सूत्रमा बाँध्ने उद्देश्यले यस संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। प्रत्येक वर्ष SEE पास गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको समाजको यो कार्यक्रम प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन, र भविष्यप्रतिको लगावको कदर गर्दै उनीहरूलाई सम्मानपत्र तथा विभिन्न उपहारहरू प्रदान गरियो। कार्यक्रममा समाजका पदाधिकारीहरू, विद्यार्थीका अभिभावक, शिक्षक, शिक्षाविद्, विभिन्न पेशागत क्षेत्रका अगुवा व्यक्तित्वहरू, साथै नेपाल सरकारका सहसचिव, उपसचिव तथा अन्य अधिकारीहरूको समेत उपस्थिति थियो।

वक्ताहरूले विद्यार्थीहरूलाई निरन्तर लगनशील रहन, उच्च शिक्षाको तयारीमा जुट्न, र समाजप्रतिको उत्तरदायित्व आत्मसात् गर्दै अगाडि बढ्न प्रेरणा प्रदान गरे।

समाजका अध्यक्ष भीम बस्यालले कार्यक्रममा बोल्दै भने, “हामी यो संस्था देशैभर लैजाने योजना बनाइरहेका छौँ, जसबाट सबै सार्की समुदाय एकै माला जस्तै जोडिनेछन्।”