मोरङको कटहरीमा रेल्वे स्टेशन निर्माण सुरु, स्थानीय आशंकित
News Desk
Aug-04 , 2025 तारिख 11:59 बिहान

मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा भारतीय रेल्वेले रेल स्टेशन निर्माणको काम थालनी गरेको छ। भारत सरकारले नेपाल–भारत सीमास्तरमा दुईदेशीय व्यापार सहज बनाउन पूर्णियादेखि कटहरीसम्म रेलमार्ग विस्तार गर्ने योजना अनुरूप यो काम सुरु गरिएको हो।

यसअघि, कटहरीका स्थानीयवासीले मुआब्जाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि रेल्वे लाइन विस्तारका काम अवरुद्ध भएको थियो। यसले विराटनगर महानगरपालिका–१८ को एकीकृत जाँचचौकीदेखि महेशपुरसम्मको खण्डमा रेल संरचना निर्माण रोकिएको थियो।

हाल सर्वोच्च अदालतबाट रिट खारेज भएसँगै भारतीय पक्षले पुनः काम अघि बढाएको हो। हाल ६६ बिघा अधिग्रहित जमिनमा पिल्लर गाड्ने र तारजालीले घेराबेराको काम भइरहेको छ। साथै, रेल्वे स्टेशनको संरचना निर्माणका लागि लागत अनुमानको प्रक्रिया पनि अगाडि बढाइएको छ। लागत अनुमान पूरा भएपछि भवन लगायत अन्य संरचना निर्माणका लागि ठेक्काको प्रक्रिया थालिने जनाइएको छ।

भारतीय पक्षका अनुसार आगामी भदौभित्र घेराबेरा सम्पन्न गरी जमिनमा छ फिट माटो पुर्ने योजना छ। डेढ वर्षभित्र सम्पूर्ण संरचना निर्माण सक्ने लक्ष्यसहित काम अगाडि बढाइएको छ।

पूर्णियादेखि कटहरीसम्मको १८ किलोमिटर लम्बाइको रेलमार्गमध्ये, पूर्णियादेखि एकीकृत जाँचचौकीसम्मको १० किलोमिटर खण्डमा पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ। यद्यपि, रेल सेवा भने अझै सुरु भएको छैन।

२०८० साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि औद्योगिक कच्चा पदार्थ बोकेर एउटा कार्गो रेल नेपाल प्रवेश गरे पनि त्यसपछि रेल नआएको अवस्थामा आम जनताले कटहरीसम्म रेल विस्तार भए पनि सेवा सञ्चालनमा आशंका व्यक्त गरिरहेका छन्।