News Desk
राजावादी प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
तीनकुनेमा आयोजित राजसंस्था समर्थन र प्रदर्शनपश्चात् पक्राउ परेका प्रसाईंलाई बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले आदेश जारी गर्दै प्रसाईंलाई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्न निर्देशन दिएको छ।
अदालती आदेशमा घटनासम्बन्धी विवरण तयार पार्ने व्यक्तिहरूका कागजात, सह-प्रतिवादीहरूद्वारा अनुसन्धानका क्रममा दिएका बयान, छानबिन समितिको प्रतिवेदनलगायत मिसिलमा संलग्न प्रमाणहरूका आधारमा हालको अवस्थामा प्रसाईं निर्दोष छन् भन्न सकिने अवस्था नरहेको उल्लेख गरिएको छ।
त्यस्तै, प्रसाईं क्यान्सर रोगबाट पीडित रहेको भन्दै पेश गरिएको चिकित्सकीय प्रमाणसमेतलाई विचार गरी थप प्रमाण संकलन गर्दै जाने प्रक्रियालाई खुला राख्दै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ अनुसार २५ लाख रुपैयाँ नगद वा सो बराबरको बैंक जमानतमा धरौटीमा छाड्ने आदेश दिइएको हो।
यससँगै, बैंकिङ कसूर मुद्दामै अतिरिक्त ३ लाख रुपैयाँ धरौटी समेत माग गरिएको छ।