News Desk
काठमाडौं | मोरङकी क्यान्सर पीडित एक बालिकाको उपचार नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि तथा वरिष्ठ क्यान्सर विशेषज्ञहरूको टोलीले निःशुल्क रूपमा गर्ने भएका छन।
करीब दुई वर्षदेखि क्यान्सरबाट पीडित ९ वर्षीया बालिका प्रिया रानी (नाम परिवर्तन) को उपचारमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठ, सर्जन डा। प्रभात र बाल रोग विशेषज्ञ डा। अञ्जली पण्डितको टोली संलग्न हुनेछ। अस्पतालले बालिकालाई निःशुल्क शय्या (बेड) उपलब्ध गराउनेछ भने बसोबास र खानपानको व्यवस्थाका लागि लायन्स क्लबमार्फत सहयोग जुटाइने बताइएको छ।
अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले बालिकाको उपचारका लागि अस्पताल र व्यक्तिगत रूपमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले क्यान्सर सहायता कार्यमा संलग्न विभिन्न सहयोगी संस्थाहरूको समेत सहभागिता सुनिश्चित गरिने जानकारी दिनुभयो। "सानो उमेरमै गम्भीर रोगले ग्रस्त बालिकाको जीवन रक्षाका लागि हामी सम्पूर्ण प्रयास गर्नेछौं, बालिकाको उपचार तत्काल सुरु गर्नेछौ।" निर्देशक श्रेष्ठ भन्नुभयो ।