बागमती प्रदेशको नयाँ मुख्यमन्त्री: ईन्द्रबहादुर बानियाँको राजनीतिक यात्रा
News Desk
Aug-06 , 2025 तारिख 07:26 बिहान

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ नेपाली राजनीतिमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय एक अनुभवी नेता हुन्। उनी २०८२ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भई सपथग्रहण गरेका हुन्। नेपाली कांग्रेसका वरिष्ठ नेता बानियाँ यसअघि पनि सांसद, राज्यमन्त्री र पार्टीका विभिन्न जिम्मेवारीमा रहेर नेतृत्व क्षमता प्रदर्शन गरिसकेका छन्।

२०२७ साल भदौमा मकवानपुरको हेटौंडा–१८, तत्कालीन हर्नामाडी गाविसमा जन्मिएका बानियाँले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका थिए। २०४६ सालमा मकवानपुर बहुमुखी क्याम्पसको उपसभापति भएर उनले संगठनात्मक जिम्मेवारी थालनी गरेका थिए। त्यसयता, विद्यार्थी राजनीतिबाट तरुण दल हुँदै नेपाली कांग्रेसको मूल धारमा समाहित हुँदै उनले पार्टीका विभिन्न तहमा योगदान दिँदै आएका छन्।

२०५१ सालमा काँग्रेस महाधिवेशन प्रतिनिधि बनेका बानियाँले २०५६ सालमा नेपाल तरुण दल मकवानपुरको अध्यक्ष भई जिल्लास्तरमा नेतृत्व सम्हाले। त्यसयता उनले पार्टीको महासमिति सदस्य, जिल्ला समिति सदस्य, सभापति लगायतका भूमिकामा काम गरेका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ बाट उनी विजयी हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भए। संविधानसभा सदस्यको कार्यकालमै उनले पर्यटन तथा नागरिक उड्ययन, र पछि गृह मन्त्रालयका राज्यमन्त्रीको जिम्मेवारी समेत वहन गरे।

२०७४ को प्रदेशसभा निर्वाचनमा भारी मतान्तरसहित मकवानपुर–२(ख) बाट उनी निर्वाचित भए। त्यसपछिको समय उनले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता, र २०७८ सालमा पार्टीको प्रदेश सभापतिको जिम्मेवारी पनि सम्हाले। पछिल्लो निर्वाचनमा पुनः निर्वाचित भए पनि संसदीय दलको नेतामा बहादुरसिंह लामासँग पराजित भएका थिए।

तर, लामाको नेतृत्वमा असन्तुष्टि बढेपछि बानियाँले नेतृत्व फेरबदलका लागि अविश्वास प्रस्ताव दर्ता गरे। २०८२ साउन १४ गते भएको चुनावमा उनले लामालाई हराउँदै संसदीय दलको नेतामा पुनः निर्वाचित भए। त्यसको केही दिनमै लामाले राजीनामा दिएपछि काँग्रेस र एमालेसहितको समर्थनमा बानियाँ मुख्यमन्त्रीको हैसियतमा अगाडि सारे, जसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्मा देवकोटाले साउन २० गते उनलाई नियुक्त गरेका हुन्।

राजनीतिक स्थायित्व र समावेशी नेतृत्वको खोजीमा रहेको बागमती प्रदेशका लागि मुख्यमन्त्री बानियाँको अनुभव, संगठनात्मक क्षमता र दीर्घ राजनीतिक यात्राले नयाँ गति दिन सक्ने अपेक्षा गरिएको छ।

धेरै पढिएको