News Desk
काठमाडौं, २०८२ साउन २० | रोटरी क्लब अफ डिल्लीबजारको आयोजना तथा चन्द्रागिरि नगरपालिका, मातृका आँखा केन्द्र, कालिभक्त-कृष्ण, जीएमपीटी फाउन्डेसन र सहज फाउन्डेसनको सहकार्यमा चन्द्रागिरि नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक र नर्सहरूका लागि एकदिने “आँखा स्वास्थ्य अभिमुखीकरण" कार्यक्रम सम्पन्न भयो । रोटरीको सामुदायिक सेवा परियोजना दृष्टि पहिलो (Sight First) अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा विद्यालय स्वास्थ्य शिक्षक २२ जना, विद्यालय नर्स ८ जना तथा सामुदायिक स्वास्थ्य नर्स १६ जना गरी कुल ४६ जना सहभागी भए । कार्यक्रममा मातृका आँखा केन्द्रका विज्ञहरूले प्राविधिक मार्गदर्शन प्रदान गरे ।
कार्यक्रमको उद्घाटन चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले गर्नुभयो भने रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष रोटेरियन प्रेमकुमार ओलीले अध्यक्षता गर्नुभयो।
सामुदायिक सेवा परियोजना निर्देशक रोटेरियन डा. हरिकृष्ण बाँस्कोटाले विद्यालयस्त्रमा आँखा स्वास्थ्यको महत्त्व तथा स्थानीय सरकार र रोटरी इन्टरनेशनलजस्ता संस्थाहरूको भूमिका बारे प्रकाश पार्नुभयो ।
कार्यक्रमको पहिलो चरणमा तालिम प्राप्त शिक्षकहरूले विद्यालय तथा सामुदायिक स्वास्थ्य नर्सहरूको सहयोगमा २२ सामुदायिक विद्यालयका करिब १२,००० विद्यार्थीको आँखा परीक्षण गर्नेछन्। दोस्रो चरणमा प्रारम्भिक परीक्षणमा दृष्टि समस्यासहित पहिचान गरिएका विद्यार्थीहरूको विस्तृत आँखा परीक्षण मातृका आँखा केन्द्रका अटोमेट्रिष्ट तथा नेत्ररोग विशेषज्ञहरूले गर्नेछन्।
राष्ट्रिय तथ्याङ्कअनुसार नेपालका करिब ८-९ प्रतिशत विद्यालय जाने बालबालिकामा दृष्टिदोष (Refractive Error) हुने भएकाले, यस पहलले चन्द्रागिरि नगरपालिकाका करिब १,००० बालबालिकालाई समयमा उपचार पाउन मद्दत गर्ने, जसले उनीहरूको दृष्टि, अध्ययन उपलब्धि र समग्र जीवनस्म्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।


