News Desk
पोखरा, साउन २२ – म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सेवा सुविधाको पहुँच वृद्धिका लागि गाउँ छाडेर सहर झरेका छन्। सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, नागरिकता सिफारिस लगायतका सेवा उपलब्ध गराउन उनीहरू घुम्ती शिविर लिएर प्रमुख शहर पुगेका हुन्।
गाउँपालिकाले साउन १८ र १९ गते काठमाडौंमा पहिलो चरणको सेवा दिइसकेको छ। त्यसपछि बुधबारदेखि पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा दोस्रो चरणको शिविर सञ्चालन गरिएको हो। पहिलो दिन करिब १५० जनाले सामाजिक सुरक्षा भत्ता नामावली नवीकरण, नागरिकता सिफारिस र अन्य सेवाहरू लिएका छन्।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न प्रत्येक वर्ष ‘बायोमेट्रिक’सहित लाभग्राहीको विवरण नवीकरण गर्नु अनिवार्य भएकाले सहरमा शिविर सञ्चालन गरिएको हो। “वर्षायाममा दुर्गम गाउँ जान ज्येष्ठ नागरिक, अशक्त र बिरामीका लागि कठिन हुने भएकाले हामी स्वयं सहरमा सेवा दिन आएका हौं,” उनले बताए।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले जनप्रतिनिधि तथा वडा सचिवहरू सहर आएर सेवा दिइरहेको जानकारी दिए। शिविरमा अध्यक्ष, उपाध्यक्षसहित सातै वडाका अध्यक्ष र तीन जना वडासचिवले सेवा दिइरहेका छन्।
गत आर्थिक वर्षमा गाउँपालिकाबाट दुई हजार ९३८ जनालाई १० करोड ५८ लाख चार हजार २८८ रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।
धेरै लाभग्राही सहरबजारमा बसोबास गरिरहे पनि औपचारिक रूपमा बसाइँसराइ नगरेका कारण प्रशासनिक सेवा लिन कठिन भइरहेको जनप्रतिनिधिहरू बताउँछन्। गत आर्थिक वर्षमा धवलागिरिबाट ७६ परिवार अन्यत्र बसाइँ सरेका थिए भने १० परिवार मात्र गाउँमा आएका थिए।