News Desk
चितवन | माडी नगरपालिका–२, भैरवपुरस्थित धानखेतमा एक बयस्क गैँडा मृत अवस्थामा फेला परेको छ। स्थानीय हरिभक्त श्रेष्ठको खेत नजिकै बुधबार बिहान करिब १०:३० बजे गैँडाको शव देखिएको हो।
इलाका प्रहरी कार्यालय माडी (बरुवा) का अनुसार, खेतको सुरक्षा लागि जंगली जनावर रोक्न राखिएको करेन्ट प्रवाह गरिएको जि.आई. तारमा अल्झिँदा गैँडाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।
घटना स्थलमा सुरक्षा निकाय र वनकर्मी पुगेका छन् भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गैँडाको पोस्टमार्टम गरी विस्तृत विवरण सार्वजनिक गरिनेछ।
यस घटनाले वन्यजन्तु संरक्षणप्रति चुनौती थपिएको भन्दै स्थानीय निकायले खेत सुरक्षाका वैकल्पिक उपाय खोज्न सुझाव दिएका छन्।