News Desk
रामेछाप |रामेछाप र राजधानी काठमाडौँलाई सबैभन्दा छोटो दूरीमा जोड्ने बिपी राजमार्ग अन्तर्गतको खुर्कोट बेलीब्रीजको मर्मत कार्य सुरु भएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ वेतिनीलाई जोड्ने करिब १०० मिटर लामो यो बेलीब्रीजमा लचकपन देखिनु, स्टिल पाताहरू हल्लिनु, र नट–बोल्ट खुकुलो हुनजस्ता समस्या देखिएपछि मर्मतको काम थालिएको हो।
नेपाली सेनाको खड्ग दल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धी गणबाट खटिएको इन्जिनियरिङ युनिटले बिहीबारदेखि मर्मतको जिम्मा लिएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार हाल नट–बोल्ट कस्ने काम भइरहेको छ र दुई दिनभित्र मर्मत कार्य सम्पन्न हुने अनुमान छ।
गत वर्षको बाढीले ५१ मिटर भाग बगाएपछि कात्तिक ६ गतेदेखि बेलीब्रीज जडान गरी यातायात सञ्चालनमा ल्याइएको हो। नेपाली सेनाले जडान गरेको यो बेलीब्रीजबाट अधिकतम १५ टन भारवाहक सवारी मात्रै चलाउन मिल्ने व्यवस्था गरिएको छ।
तर, स्थानीयबासीले प्रहरीको मिलेमतोमा अधिक भार भएका सवारी पनि पुल पार गरिने गुनासो गरेका छन्।
करीब १८ करोड लागतमा निर्माण गरिएको मूल पुलले मन्थली–काठमाडौँ दूरी झन्डै ७५ किलोमिटरले छोट्याएको हो। हाल मर्मत कार्य सडक डिभिजन कार्यालय खुर्कोटसँगको समन्वयमा सेनाले अगाडि बढाइरहेको छ।