News Desk
श्रावण २२, २०८२ | भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको हर्षिल क्षेत्रमा गएको विनाशकारी बाढी–पहिरोमा परी सात नेपालीको ज्यान गएको छ भने छ जना अझै बेपत्ता छन्। मृतकहरू जाजरकोट र जुम्लाका हुन्।
जाजरकोटको कुशे गाउँपालिका २ टालेगाउँका ६ जना र जुम्लाको एक जना बाढीमा परेर मृत्यु भएको पुष्टि भएको हो। रोपाइँ सकिएपछि रोजगारीको खोजीमा भारत गएका उनीहरू हर्षिलमा काम गर्दै आएको अवस्थामा मंगलबार आएको बाढीले बगाएको हो।
मृत्यु हुनेहरूमा कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, तिलबहादुर सिंह र रबिन सिंहको नाम खुलेको छ भने एक जनाको नाम भने अझै खुलेको छैन। जुम्ला कुडारीका जनकबहादुर शाही पनि घटनामा परेर ज्यान गुमाएका हुन्।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार, घटनामा परेर अझै ६ जना सम्पर्कविहीन छन्। परिवारका सदस्यहरूको जानकारीका आधारमा हराइरहेका नेपालीहरूको खोजी कार्य तीव्र पार्न आग्रह गरिएको उनले जानकारी दिनुभयो।
गाउँपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै संघीय सरकारमार्फत भारत सरकारसँग आवश्यक कूटनीतिक पहल गरी हराइरहेका नेपालीहरूको उद्धार र खोजी कार्य अगाडि बढाउन आग्रह गरेको छ।
यसैबीच, नयाँ दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले भारतीय निकायसँग समन्वय गरी बेपत्ताहरूको खोज तथा उद्धार कार्यमा पहल भइरहेको बताएका छन्।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पनि गाउँपालिकाको आधिकारिक जानकारीका आधारमा गृह मन्त्रालयलाई आवश्यक समन्वय गर्न अनुरोध गरिएको बताए।