राखी बनाउने प्रतियोगिता सम्पन्न
News Desk
Aug-09 , 2025 तारिख 06:32 बिहान

वीरगञ्ज – सगरमाथा एकेडेमी, मुरली१२, वीरगञ्जमा शुक्रबार राखी बनाउने प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि आयोजित प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

विद्यार्थीहरूलाई दुई समुहमा विभाजन गरिएको थियो— जुनियर समूह (कक्षा १ देखि ५) र सिनियर समूह (कक्षा ६ देखि १०)। उनीहरूले आफ्ना सिर्जनात्मक क्षमता प्रस्तुत गर्दै आकर्षक राखीहरू निर्माण गरेका थिए।


कार्यक्रमको अध्यक्षता सगरमाथा स्कूलका सञ्चालक एवं नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ताले गरेका थिए। प्रमुख अतिथिको रूपमा नागरिक दैनिकका सम्पादक एवं वरिष्ठ पत्रकार राजेन्द्र सिंह राजपूतको उपस्थिति थियो। विशेष अतिथि तथा निर्णायकका रूपमा मुकेश महतो,  पत्रकार दिपु वर्णवाल, निर्णायक करिश्मा शाह तथा डाइमेंशन स्कूलका संस्थापक बसन्त चौधरीको सहभागिता रहेको थियो।

विद्यालयका संयोजक सञ्जीव यादवका अनुसार, प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा संस्कार, सीप र सिर्जनात्मकता अभिवृद्धि गर्नु हो। प्रतियोगिताबाट विद्यार्थीहरूको मौलिक प्रतिभा अभिव्यक्त भएको उनले बताए।

कार्यक्रममा निर्णायक मण्डल तथा अतिथिहरूले उत्कृष्ट राखी निर्माण गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा शिल्ड प्रदान गरेका थिए।

विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताले सगरमाथा एकेडेमीले विगत १६ वर्षदेखि वीरगञ्जमा गुणस्तरीय शिक्षासँगै संस्कार, अनुशासन, पारिवारिक तथा सामाजिक जिम्मेवारीको बोध गराउँदै आएको बताए। उनले भने, “हाम्रो लक्ष्य राम्रो अंक मात्र होइन, सक्षम र जिम्मेवार नागरिक तयार पार्नु हो। त्यसैले हामी शैक्षिक उत्कृष्टता मात्र होइन, नेतृत्व, सामाजिक उत्तरदायित्व र नैतिक मूल्यमा समेत विद्यार्थीहरूलाई सशक्त बनाउन प्रयासरत छौं।”

विद्यालयले यस्ता अतिरिक्त गतिविधिहरूलाई विद्यार्थीहरूको व्यक्तित्व विकास र सांस्कृतिक ज्ञान अभिवृद्धिका लागि महत्वपूर्ण मानेको छ।
DIPU BARNWAL