News Desk
२५ श्रावण काठमाडौं। रेडक्रसकर्मी पुष्पराज पौडेलद्वारा लिखित रेडक्रसका चम्किला तारा नामक कृतिको आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीम एक विशेष समारोहका विच लोकार्पण भएको छ। २८८ पृष्ठमा रहेको सो कृतिमा नेपाल रेडक्रस सोसाइटीमा योगदान दिएका स्वदेशी तथा विदेशी ५३ जना अग्रजहरुको जीवनी समेटिएको छ।
हालै गठित तदर्थ समितिका अध्यक्ष बिनोद कुमार शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा दिव्य शताब्दी पुरुष डा गौरी शंकर लाल दास हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीमा योगदान दिनु भएका अग्रज विश्व केशर मास्के, देवरत्न धाख्वा, तिर्थराज वन्त, लोकदर्शन श्रेष्ठ, बेल बहादुर थापा, झापा शाखाका सभापति लोकराज ढकाल, दिपेन्द्र ढकाल, साहित्यकार मुकुन्द पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो। त्यसका साथै रेडक्रस सोसाइटीका कर्मचारीहरु र अन्य सामाजिक तथा साहित्यिक व्यक्तित्वहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो। कृति उपर वरिष्ठ साहित्यकार एवं समीक्षक श्यामल अधिकारी तथा दिव्यराज पौडेलले समीक्षा गर्नु भएको थियो। प्रमुख अतिथि दिव्य शताब्दी पुरुष गौरी शंकर लाल दासले यो महत्वपूर्ण र गरिमामय समारोहमा उपस्थित भई प्रमुख आतिथ्यता गर्न पाएकोमा खुशी लागेको बताउनु भएको थियो भने सो समयमा अन्य बक्ताहरुले पनि यस प्रकारको कृति आउनु र अग्रज रेडक्रसकर्मीहरुलाई भेला गरी विमोचन गरिनु प्रशम्सनिय कार्य भएको धारणा व्यक्त गरेका थिए।
केही समय देखि अस्थिर र अन्यौल अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटीलाई पुन जागृत गराउन र हाल देखिएको अस्थिरतालाई चिर्न रेडक्रस सोसाईटी अन्तर्राष्ट्रिय संस्था जेनेभा देखि पनि केही समय देखि चासो प्रकट गरिंदै आएको परि प्रेक्ष्यमा नेपाल सरकारले विनोद कुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरी तीन महिना भित्रमा विधान संशोधन गरी नयाँ कार्यसमिति चयन गर्न जिम्मेवारी दिएको छ। कार्यक्रममा नव गठित तदर्थ समितिका अध्यक्ष बिनोद कुमार शर्माले आँफुलाई सरकारले सुम्पिएको जिम्मेवारी पुरा गर्न बचनबद्ध रहेको र यसमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो भने तिर्थराज वन्त लगायतका वक्ताहरुले आँफुहरुले रेडक्रसको ईतिहास र शाखलाई जोगाउन हरदम सहयोग गर्ने बचन दिनु भएको थियो।
कार्यक्रममा नमुना शर्माले कविताद्वारा स्वागत मन्तव्य राख्नु भएको थियो भने उद्घोषण सुशीला ढकालले गर्नु भएको थियो।
मुल्य रू ५००/ राखिएको यो कृति जानकारी मुलक र पठनीय छ। कृतिकार पुष्पराज पौडेलले आँफुले नेपाल रेडक्रसमा रहेर लामो समय सेवा गर्ने अवसर पाएको र केही समय देखि यस प्रकारको कृति लेख्ने आँफुमा हुटहुटी रहेको थियो भन्दै आज यो कृति ल्याउन सफल भएकोमा प्रसन्नता व्यक्त गर्दै अझै पनि यस कृतिमा कतिपय कमि कमजोरीहरु रहेका र महत्वपूर्ण विषय र प्रसंगहरु समेट्न नसकिएको हुन सक्छन् त्यसका लागि भने क्षमाप्रार्थी छु भन्दै कार्यक्रममा उपस्थित सबै प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो।


