भारतीय सीमावर्ती जिल्लामा पछिल्लो समय ठूलो मात्रामा नक्कली नेपाली नोट फेला
News Desk
Aug-13 , 2025 तारिख 11:57 बिहान

पूर्वी तराईका जिल्लामा पटक पटक ठूलो मात्रामा नक्कली नेपाली नोट बरामद भए पनि प्रहरी अझैसम्म यसको मुख्य गिरोहसम्म पुग्न नसकेको छ।

सीमावर्ती भारतीय क्षेत्रका जिल्लाबाट नक्कली नोटसहित केही व्यक्तिहरू पक्राउ परे पनि ती सबै सामान्य स्तरका कारोबारी वा भरियामात्रै रहेको प्रहरीले जनाएको छ। मुख्य योजनाकार र गिरोहका अगुवा अझै उम्किरहेका छन्।

गत सातै सुनसरीको भीमनगर नाकाबाट ३८ थान एक हजार दरका नक्कली नोटसहित एक व्यक्ति पक्राउ परेका थिए। गत वर्ष पनि सोही जिल्लामा भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको थियो।

यसअघि असोज महिनामा इटहरीबाट १५ लाख बराबरको नक्कली नोटसहित दुई जना पक्राउ परेका थिए। यस्तै झापा, मोरङ र सुनसरीमा समेत पटक–पटक नक्कली नोटसहित केही व्यक्तिहरू पक्राउ परे पनि ती सबै ‘भरिया’ मात्र भएको खुलेको छ।

भारतीय सीमावर्ती जिल्लामा पछिल्लो समय ठूलो मात्रामा नक्कली नेपाली नोट फेला पर्ने क्रम बढेपछि प्रहरीले विशेष टोली परिचालन गरी खोजीलाई तीव्र पारेको दाबी गरेको छ। तर, गिरोहको वास्तविक नेतृत्वको पहिचान र पक्राउ भने अहिलेसम्म सम्भव भएको छैन।