News Desk
भारतको उत्तराखण्डमा अघिल्लो साताको भीषण बाढीमा २६ जना नेपाली हराइरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ जना र पौडीगढवालको बंकुरामा ५ जना गरी कुल २६ नेपाली बेपत्ता छन्।
धरालीमा हराएका व्यक्तिहरूमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन्। यस्तै, दिपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर पनि बेपत्ता सूचीमा छन्।
पौडीगढवाल क्षेत्रमा हराएका नेपालीहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विकको नाम दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
गत मंगलबार उत्तरकाशीको धराली क्षेत्रमा आरीघोप्टे वर्षासँगै खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गअन्तर्गत पर्ने धराली बजारलाई पूर्ण रूपमा क्षति पुर्याएको हो।
उक्त क्षेत्रमा रहेका होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरू बाढीमा परेको अनुमान गरिएको छ। हाल धराली क्षेत्रमा फोन र विद्युत सेवा पुनः सञ्चालनमा आएपछि उद्धार तथा खोजी कार्य तीव्र भएको दूतावासले जनाएको छ।