देवाही गोनाहीमा कृष्ण जन्माष्टमी मेलामा झडप, मेयरसहित पाँच जना घाइते
News Desk
Aug-17 , 2025 तारिख 06:21 बिहान

रौतहटको देवाही गोनाही नगरपालिकामा आयोजित कृष्ण जन्माष्टमी मेलाको उद्घाटन कार्यक्रममा विवाद भई झडप भएको छ। शनिबार वडा नं–९ धरहरीमा रिबन काट्ने विषयमा उत्पन्न विवाद तिव्र बन्दै झडपमा परिणत हुँदा नगरप्रमुख प्रेमलाल साहसहित पाँच जना घाइते भएका हुन्।

घाइते मेयर साहलाई गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरिएको छ। उनको टाउकोमा १४ वटा टाँका लगाइएको मेयरका सहयोगी राम प्रदेश पटेलले जानकारी दिएका छन्।

झडप नियन्त्रणका लागि खटिएका बरिष्ठ प्रहरी हवलदार जगदीश यादव र धनसुन्दर ठाकुर, साथै स्थानीय श्याम विनय साह र रामविकास साह पनि घाइते भई सोही अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीसँग स्थानीय युवाबीच धकेलाधकेल समेत भएको थियो। सो क्रममा संलग्न भएको आरोपमा देवाही गोनाही–९ धरहरी टोलका राधामोहन साह, विनोद साह र रितिक साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डिएसपी राजन कार्कीले बताएका छन्।

 

धेरै पढिएको