News Desk
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग करिब एक घण्टा भेटवार्ता गरेका छन्। मंगलबार जेरुसेलमस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेतान्याहुसँग बन्धक मामिलासम्बन्धी सल्लाहकार गाल हार्थलगायत अधिकारीहरूको टोली पनि उपस्थित थियो।
नेतान्याहुले जोशी परिवारलाई आफ्नो सरकार विपिनको सुरक्षित रिहाइका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले नेपालका विभिन्न अरब मुलुकहरूसँग रहेको सुमधुर सम्बन्धलाई प्रयोग गरी विपिनको मुक्तिका लागि पहल गर्न सक्ने सुझाव पनि दिएका छन्।
राजदूत प्रा. धनप्रसाद पण्डितका अनुसार, नेतान्याहुले जापानी राजदूतलाई समेत प्रतीक्षारत राखी विपिनकी आमा र बहिनीलाई प्राथमिकता दिएर भेट गरेका थिए। भेट कक्षमा प्रवेश गर्दा उनले ‘नमस्ते’ भन्दै पद्मा र पुष्पासँग हात मिलाएका थिए।
पद्माले आफ्ना छोरा विपिनको तस्वीर बोकेकी थिइन्। तस्वीर देखेपछि नेतान्याहुले त्यसलाई मागी ध्यानपूर्वक नियाले र भने, “विपिन नभएको भए त्यहाँ अझ धेरै मानिसले ज्यान गुमाउने थिए। उनले अरूको ज्यान बचाएका कारण विपिन साहसी र वास्तविक हिरो हुन्।” उनले विपिनलाई इजरायलीहरूले ‘रोल मोडल’का रूपमा चित्रण गरेको समेत बताए।
भेटका क्रममा आमा पद्माले छोराको जीवन जोगाइदिन नेतान्याहुलाई भावुक अनुरोध गरिन्। “विपिनको कसैसँग शत्रुता थिएन, पढ्नका लागि मात्र आएको थियो,” पद्माले भनिन्, “यसैले उहाँले मुक्त गराइदिनुहुन्छ भन्नेमा हामीलाई विश्वास छ।”
त्यस्तै, बहिनी पुष्पाले दाजु अपहरित भएपछि आफूहरू लामो समय मानसिक पीडामा डुबेकाे उल्लेख गरिन्। नेतान्याहुले उनको पीडालाई आत्मसात् गर्दै आफ्नो दाजु जोनाथन नेतान्याहुको मृत्यु स्मरण गरे। सन् १९७६ मा युगाण्डाको एन्टेवे अपरेसनका क्रममा प्यालेस्टिनी अतिवादीसँगको भिडन्तमा जोनाथन मारिएका थिए। “दाजुभाइ गुमाउँदाको पीडा कस्तो हुन्छ, मलाई थाहा छ,” नेतान्याहुले पुष्पासँग भने।
नेतान्याहुले हमासको कब्जामा अझै करिब ५० जना रहेको जानकारी दिँदै, विपिनबारे भने कुनै नकारात्मक सूचना प्राप्त नभएको स्पष्ट पारे। उनले नेपाललाई संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय भएर समर्थन जुटाउन आग्रह गरे।
भेटपछि विपिनकी बहिनी पुष्पाले भनिन्, “दाजुको रिहाइका लागि प्रधानमन्त्री आफैंले सक्दो प्रयास गरिरहेको सुनाउँदा हामीलाई आशा जागेको छ। यस्तो अवसर दिलाइदिएकोमा हामी आभारी छौं।”