News Desk
काठमाडौं, भाद्र ४ । भारतको परराष्ट्र मन्त्रालयले नेपालले उठाएको सीमा सम्बन्धी प्रश्नमा आफ्नो धारणा सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले एक विज्ञप्ति जारी गर्दै भारत र चीनबीच लिपुलेक पासमार्फत हुने व्यापार पुरानो परम्परा भएको र यो निरन्तर जारी रहँदै आएको बताएका छन्।
उनका अनुसार सन् १९५४ देखि भारत–चीनबीच लिपुलेक मार्ग हुँदै व्यापार सुरु भएको हो र पछिल्ला वर्षमा कोभिड–१९ लगायतका कारण अवरुद्ध भए पनि अब दुवै पक्षले पुनः सुरु गर्ने सहमति गरेका छन्।
तर नेपालले दाबी गर्ने सीमा सम्बन्धी प्रश्नमा भारतको धारणा यथावत रहेको उनले स्पष्ट पारेका छन्। “नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। कृत्रिम रुपमा गरिएका भौगोलिक दावी स्वीकार्य हुँदैनन्,” विज्ञप्तिमा उल्लेख छ।
भारतले भने नेपालसँगको सीमा सम्बन्धी बाँकी रहेका विवादलाई संवाद र कूटनीतिक माध्यममार्फत समाधान गर्न आफू सधैं तयार रहेको बताएको छ।