News Desk
भाद्र कृष्ण औँसीलाई कुशेऔँसी नामले चिनिन्छ। यस दिन वर्षभरि देवकार्य र पितृकार्यमा आवश्यक पर्ने कुश काटी सुरक्षित राख्ने परम्परा छ। पुरोहितले मन्त्रपाठसहित काटिएको कुश यजमानको घरमा ल्याइदिने र त्यसलाई पवित्र स्थानमा राख्ने वा ढोकामाथि सिउरिने प्रचलन रहेको छ। यस्तै, यसरी राखिएको कुशले घरलाई वर्षभरि सुरक्षित राख्ने विश्वास गरिन्छ।
कुशेऔँसीमा ल्याइएका कुशलाई वर्षभरि विभिन्न मांगलिक तथा पितृ सम्बन्धी कार्यमा प्रयोग गर्ने गरिन्छ। धार्मिक ग्रन्थअनुसार आवश्यकता परेको दिनमा मात्र काटिएको कुश प्रयोग गर्नुपर्ने भनिए पनि सबैका घरमा उपलब्ध नहुने भएकाले यस दिन पुरोहितमार्फत कुश ल्याउने चलन सुरु भएको हो।
साथै, लौकिक परम्पराअनुसार यो दिन छोराछोरीले आफ्ना बाबुलाई खानेकुरा र लुगाफाटो अर्पण गरी सम्मान गर्ने बुबाको मुख हेर्ने प्रथा प्रचलित छ। काठमाडौं उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने प्रथाले कालान्तरमा व्यापक स्वरूप पाएको र सबै समुदायले अंगालेको संस्कृतिविद्हरू बताउँछन्।