यो वर्षको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई प्रदान
News Desk
Aug-23 , 2025 तारिख 12:51 बेलुका

यो वर्षको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई प्रदान गरिएको छ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो।

त्यसैगरी लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएको भन्दै प्रेमदेव गिरीलाई जगदम्बा-श्री प्रदान गरिएको छ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा श्री बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई प्रदान गरिएको थियो।

२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा-श्री पुरस्कार स्थापना गरिएको हो। यो सम्मान पहिलोपटक नारायणगोपाललाई प्रदान गरिएको थियो।

नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा-श्री प्रदान गरिन्छ।