News Desk
काठमाडौं, नेपालको पर्वतीय पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशील अर्थात पर्यटन क्षेत्रका पर्यायवाची नाम कुलबहादुर गुरुङ नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदका लागि उम्मेदवार भएका छन । मलेसियाको लिंकन विश्वविद्यालयबाट पर्वतीय पर्यटन विषयमा विद्यावारिधि गरिरहेका गुरुङ शनिबार अर्थात आज हुन लागेको संघीय चुनावमा आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी भिडन्तमा उत्रीएका छन ।
‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान! सशक्त संघ, दिगो पर्वतीय पर्यटन!’ नारासहित गुरुङले आफ्नो समूहलाई अगाडि बढाएका छन । उनले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरेका अनुभवी र सक्षम उम्मेदवार रहेका कारण चुनाव जित निश्चित भएको बताएका छन ।
गुरुङ सन् १९९२ देखि नेपालको पर्वतीय पर्यटन क्षेत्रमा सक्रिय छन । एनएमएको सफल महासचिव रहिसकेका उनी ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)मा उपाध्यक्ष समेत भइसकेका ब्यक्ती हुन । विश्व पर्वतारोहण महासंघ र अन्य थुप्रै पर्यटन संस्थासँग संलग्न उनी व्यवसायिक मात्र नभई बौद्धिक र प्राज्ञिक व्यक्तित्वको रूपमा पनि परिचित छन । गुरुङले पर्वतीय पर्यटन क्षेत्रको दिगो विकासका लागि विभिन्न एजेन्डा अघि सारेका छन ।
उनले आरोहण फोहोर व्यवस्थापन, धरौटी रकम फिर्ता गर्ने प्रणाली सुधार, गाइड र शेर्पा तथा उच्च हिमाली श्रमिकका लागि तालिम, बीमा, स्वास्थ्य र सामाजिक सुरक्षा सुनिश्चित गर्ने योजनाको घोषणासमेत गरेका छन ।
हिमाल आरोहणका क्रममा दिवंगत श्रमिक परिवारका लागि विशेष पेन्सन, अक्षयकोष, छात्रवृत्ति, व्यावसायिक तालिम र आयस्रोतमुखी सीप विकास कार्यक्रम लागू गर्ने आफ्नो योजना रहेको गुरुङले बताएका छन । पर्वतारोहण तालिम प्रतिष्ठान र अनुसन्धान केन्द्र, मनाङ पर्वतारोहण तालिम विद्यालय, अन्नपूर्ण उद्धार केन्द्र र ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गर्ने पनि गुरुङका योजना रहेका छन ।
उनले महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति तथा विशेष सीप विकास कार्यक्रम सञ्चालन गर्ने र स्थानीय सरकारसँग सहकार्यमा पूर्वाधार विकास गर्ने योजना राखेका छन । नेपालका हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्दै वार्षिक हिमाल महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा,द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डिमा दिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिएका छन ।
यसै गरि सदस्यहरुमा पुस्कर शाह, बलबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङ रहेका छन्।
गुरुङको उम्मेदवारीले नेपाल पर्वतीय पर्यटन क्षेत्रमा व्यावसायिकता, दक्षता र दिगोपन ल्याउने अपेक्षा गरिएको छ । उनका योजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको हिमाल र पर्वतीय पर्यटनलाई थप प्रतिस्पर्धी र परिचित बनाउने विश्वास विशेषज्ञ र पर्यटनकर्मीहरूमा रहेको वरिष्ठ पर्यटनकर्मीहरूले बताए । वरिष्ठ पर्यटनकर्मीहरुले जनसवालसङ्ग कुरा गर्दै पर्वतीय पर्यटन क्षेत्रमा कुल बहादुर गुरुङजस्ता ब्यक्तिको ठूलो आवस्यकता रहेकोले उनको जित सुनिस्चित भएको बताए । गुरुङ सङ्गै उनको टिमनै सबै समुहलाई समेटेर बनाईएकाले उक्त टिमको नै जित सुनिश्चित जस्तै रहेको वरिष्ठ पर्यटनकर्मीहरुले बताए ।