विद्यालय शिक्षा विधेयकको विरोध
News Desk
Aug-24 , 2025 तारिख 12:21 बेलुका

विद्यालय शिक्षा विधेयकमा सेवा प्रवेश उमेर सीमा ४० वर्ष पुर्‍याउने र १२ कक्षा पासलाई आधारभूत तहमा अध्यापन गर्ने व्यवस्था गर्नुपर्ने माग बेवास्ता गरिएको भन्दै सरोकारवाला पक्षले आन्दोलनको घोषणा गरेका छन्।

राष्ट्रिय संघर्ष समितिले उमेर सीमा र तहअनुसारको शैक्षिक योग्यता सुनिश्चित गर्नुपर्ने माग दोहोर्‍याउँदै आफ्ना सबै पदाधिकारी र सदस्यलाई विरोधमा उत्रन आह्वान गरेको छ।

समितिका अध्यक्ष भक्त बुढाले जारी गरेको विज्ञप्तिमा, “राज्यले युवालाई अवसर नदिई दबाउने प्रयासलाई असफल बनाउन हामी दृढ संकल्पित छौँ,” भन्दै गैरजिम्मेवार शक्ति विरुद्ध नागरिक, शिक्षक र बुद्धिजीवी सबैलाई एकताबद्ध हुन अपिल गरिएको छ।

यसअघि शिक्षा समितिको उपसमितिबाट सार्वजनिक प्रतिवेदनमा ती मागबारे छलफल भए पनि अन्तिम सिफारिसमा भने समेटिएको छैन भन्ने समितिको आरोप छ।