मुख्यमन्त्री बानियाँले विपन्न सुनार परिवारलाई घर निर्माणका लागि गरे २ लाख सहयोग
News Desk
Aug-27 , 2025 तारिख 12:34 बेलुका

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट मनहरी गाउँपालिका–९ निवासी मिठुमाया सुनारको घर निर्माणका लागि सहयोग उपलब्ध गराएका छन्।

मुख्यमन्त्री पदभार सम्हालेको पहिलो दिनमै उनले आफ्नो सेवासुविधाबाट निर्वाचन क्षेत्रका गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्ने घोषणा गरेका थिए। सोही प्रतिबद्धता अनुसार आज उनले मनहरी गाउँपालिकामार्फत अति विपन्न सुनार परिवारलाई घर बनाउन दुई लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।

श्रीमानको निधन भइसकेकी र एक मात्र छोरा सङ्गम सुनार शारीरिक अपाङ्ग भएकी मिठुमाया सुनारलाई सहयोग स्वरूप प्रदान गरिएको रकम मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले “आफ्नो तलब भत्ताबाट विपन्न नागरिकको घर निर्माण गर्ने प्रतिबद्धता कार्यान्वयनतर्फ अघि बढाइएको” भन्दै स्थानीयवासीको सिफारिस र गाउँपालिकाको समन्वयमा घर निर्माण प्रक्रिया अघि बढाइने बताए।

गाउँपालिका अध्यक्ष कालाखेतीका अनुसार मुख्यमन्त्रीबाट प्राप्त रकम प्रयोग गरी दुई कोठा, एक भान्सा कोठा र शौचालयसहितको घर निर्माण गरिनेछ।