रौतहट हत्या काण्डका आरोपीको काठमाडौंमा मृत्यु
News Desk
Aug-28 , 2025 तारिख 12:21 बेलुका

रौतहटकी २६ वर्षीया रुबीकुमारी साहको हत्या अभियोगमा रहेका लक्ष्मण पासवानको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ। बुधबार बिहान माधवनारायण नगरपालिका–६ स्थित खेतमा आफ्नै शरीरमा आगो लगाएको अवस्थामा भेटिएका उनलाई गम्भीर घाइते अवस्थामा कीर्तिपुर बर्न अस्पताल ल्याइएपनि बचाउन सकिएन।

मृत्युपूर्व पासवानले करिब ९ मिनेट लामो भिडियो सन्देशमार्फत रुबीको हत्या गरेको स्वीकार गरेका थिए। उनले रुबीकी आमालगायत केही व्यक्तिलाई घटनाका लागि दोषी ठहराउँदै आफ्नो गरिबी र सामाजिक दबाबका कारण यस्तो कदम चाल्नुपरेको बताएका थिए।

गत शनिबार गौरमा सुटकेसभित्र रुबीको शव फेला परेको थियो। घटनापछि प्रहरीले अनुसन्धान गर्दा प्रमुख आरोपीका रूपमा पासवानमाथि अनुसन्धान अघि बढाएको थियो।