जेन​ जी आन्दोल​न​को क्र​म​मा भ​एको घटनाको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ​ : ग​ग​न​ थापा
News Desk
Sep-09 , 2025 तारिख 12:44 बेलुका

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज भएको युवा आन्दोलनमा देखिएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले निर्दोष युवाको ज्यान जानु सरकारको असंवेदनशीलता र गैरजिम्मेवारीपूर्ण शैलीको परिणाम भएको भन्दै यस घटनाको सम्पूर्ण राजनीतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्नेमा जोड दिए ।

उनका अनुसार आन्दोलन नियन्त्रण गर्ने बहानामा सरकारले गरेको अत्यधिक बल प्रयोग अक्षम्य र निन्दनीय छ । गृहमन्त्रीले यस घटनाको नैतिक जिम्मेवारी स्वीकार गरी राजीनामा दिइसके पनि, घटनाको ठुलो राजनीतिक जिम्मा प्रधानमन्त्रीकै काँधमा पर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले युवाले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका मागहरू सम्पूर्ण जनताको सरोकारका विषय भएको उल्लेख गर्दै, संविधान र कानुन संशोधनमार्फत ठोस कदम चाल्न सरकारलाई आग्रह गरे । साथै, २०४६ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि उनले राखे ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाउने प्रयास अस्वीकार्य हुने चेतावनी दिए । सामाजिक सञ्जाल नियमनका नाममा ल्याइएका निर्देशिका संविधानविपरीत भएकाले तत्काल खारेज गर्नुपर्ने उनको अडान छ ।

थापाले दुई ठूला दलको गठबन्धन सरकार सुशासन दिन असफल भएकाले यसको औचित्यमाथि प्रश्न उठाएका छन् । कांग्रेसले पनि यसबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले युवाहरुलाई संयमित ढंगले, संवादमार्फत आन्दोलनलाई अगाडि बढाउन आह्वान गरेका छन् ।