जेन जी आन्दोलनमा हालसम्म १९ जनाको ज्यान वयो, कम्तीमा ४ सयजना घाइते
News Desk
Sep-09 , 2025 तारिख 01:05 बेलुका

काठमाडौँ । सोमबार राजधानीसहित देशका विभिन्न ठाउँमा जेन–जी पुस्ताले गरेको भ्रष्टाचारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि ठूलो जनधनको क्षति भएको छ । काठमाडौंमा मात्र १७ र सुनसरीको इटहरीमा २ गरी १९ जनाको ज्यान गएको छ भने कम्तीमा ४ सयजना घाइते भएका छन् ।

माइतीघर मण्डलाबाट बिहान ९ बजे सुरु भएको जुलुस बानेश्वरतर्फ अघि बढ्दै जाँदा दिउँसो ११ बजेतिर निषेधित क्षेत्रमा प्रवेश गरेको थियो । संसद भवन अगाडि पुगेका आन्दोलनकारीले सुरक्षा पोस्टमा तोडफोड र आगजनी गरेपछि प्रहरीले नियन्त्रणका लागि पानीको फोहोरा चलाएको थियो । तर परिस्थिती थप चर्किँदै जाँदा प्रहरीले गोली प्रहार गर्दा ठूलो संख्यामा सर्वसाधारण घाइते हुन पुगे ।

स्थिती नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गर्‍यो । दिउँसो १ बजे शुरु भएको प्रहरी–आन्दोलनकारी बीचको झडप बेलुकीसम्म जारी रह्यो ।

यसअघि चैत्र १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलन हिंसात्मक बनेपछि गृह प्रशासनले "प्रहरी चुकेको" निष्कर्ष निकालेको थियो । त्यसबाट पाठ सिकेर भिड नियन्त्रणमा सावधानी अपनाउनुपर्ने भनिए पनि सोमबारको घटनामा त्यो पुनः दोहोरिएको देखिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले यस घटनामा प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको निष्कर्ष सार्वजनिक गर्दै मृतक र घाइतेको न्याय सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।